खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बिसाउनापाखामा निर्माण गरिएको रेन्बो ट्राउट रेस–वे प्रयोगमा नआउँदै अलपत्र बनेको छ। नगरपालिकाको सहभागितात्मक ट्राउट विकास कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७४/०७५ सालमा बनाइएको रेन्बो ट्राउट पोखरी हालसम्म प्रयोगमा ल्याइएको छैन। संघीय सरकारबाट प्राप्त शसर्त कार्यक्रमबाट नगरपालिकाले स्थानीय अजम्बरी कृषि सहकारी संस्थासँगको साझेदारीमा रेन्बो ट्राउट रेस–वे निर्माण गरेको थियो।
रेन्बो ट्राउट पालनका लागि एउटै ब्लकमा लम्बाई १७ मिटर र चौडाई ८ मिटरको दुई वटा पोखरी निर्माण गरिएको छ। पोखरी निर्माण तथा पोखरीमा खोलाको पानी तान्ने पाईपलाइन र पोखरीसम्म पुग्ने सडक निर्माणका लागि १९ लाख ५० हजार खर्च भएको थियो।
यद्यपि, ‘कहाँबाट कति रकम प्राप्त भयो’ भन्ने यकिन विवरण न नगरपालिकासँग छ, न उपभोक्ता समितिसँग नै। राम्रो बजार भाउ तथा प्रचुर सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलाशय मत्स्य विकास कार्यक्रम, बालाजुको प्राविधिक सहयोगमा रेन्बो ट्राउट रेस–वे बनाएको हो। रेन्बो ट्राउट रेस–वेलाई हाल जंगलले ढाकिसकेको छ । बनाएर अलपत्र छाडिएको पोखरी स्यहार सम्भार नहुँदा पुरानो बनिसकेको छ।
नगरपालिकामार्फत ५ लाख र सहकारीको ५ लाखमा रेन्बो ट्राउट रेस–वे तयार पारिएको हो। पोखरीको दुईतिर रहेको इपा खोला र मेवा खोलाको पानी ल्याउन पाइपलाइनका लागि नगरपालिकाबाट ६ लाख ५० हजार खर्च भएको सहकारीका अध्यक्ष चित्रकुमार राई बताउँछन्। तर पोखरीमा पानी ल्याइएको छैन। मध्यपहाडी लोकमार्गबाट रेस–वेसम्म पुग्ने सडक खन्न नगरपालिकाले ३ लाख दिएको थियो । रुख, झाडी उम्रिएर सडक पनि ढाकिसकेको छ।
रेन्बो ट्राउट रेस–वे बनाउनका लागि अजम्बरी कृषि सहकारी संस्थाले नगरपालिकासँग सम्झौता गरिएको थियो। तर सहकारीमार्फत काम गरिएन। उपभोक्ता समिति बनाएर सहकारीका अध्यक्ष राई र हरिभक्त राईले रेन्बो ट्राउट रेस–वे बनाउने जिम्मा लिएका थिए। उनीहरु उपभोक्ताकातर्फ लागत साझेदारी वापतको पाँच लाख आफै लगानी गरेर रेन्बो ट्राउट रेस–वे निर्माणको काममा अघि सरेका थिए।
रेन्बो ट्राउट रेस–वे बनाउनका लागि अजम्बरी कृषि सहकारी संस्थाले नगरपालिकासँग सम्झौता गरिएको थियो। तर सहकारीमार्फत काम गरिएन। उपभोक्ता समिति बनाएर सहकारीका अध्यक्ष राई र हरिभक्त राईले रेन्बो ट्राउट रेस–वे बनाउने जिम्मा लिएका थिए। उनीहरु उपभोक्ताकातर्फ लागत साझेदारी वापतको पाँच लाख आफै लगानी गरेर रेन्बो ट्राउट रेस–वे निर्माणको काममा अघि सरेका थिए। सहभागितात्मक ट्राउट विकास कार्यक्रम अन्तरगत ५२ घरमिटरको रेस–वे बनाउने, पानी व्यवस्थापन गर्ने, ट्यांकी निर्माण गर्ने लगायतका सम्झौता गरिएको थियो। तर, १०८ घनमिटरको पोखरी बनाइएको सहकारीका अध्यक्ष राई बताउँछन्।
रेन्बो ट्राउट माछा पालनको थप क्षेत्र विस्तार गर्दै ट्राउट मत्स्य बिज उत्पादन र आपुर्ती गर्ने, रेन्बो ट्राउटको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यका साथ २०७४ पुस २७ गतेको नगरकार्यपालिकाबाट नगर रेन्बो ट्राउट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ स्वीकृत गरिएको थियो। “रेन्बो ट्राउट रेस–वे सञ्चालनमा नआउनुका पछाडि हाम्रो पनि दोष छ, तर के कारणले समस्या आयो भन्ने बुझिदिनुपर्छ,” सहकारीका अध्यक्ष राईले भने, “जग्गाको विषयमा वडा वा नगरपालिकाले समन्वय गरिदिए रेन्बो ट्राउट रेस–वेलाई सञ्चालन गर्न सकिन्छ । राज्यको यत्रो लगानी भएको छ । यसलाई सञ्चालनमा ल्याउनु नै छ।”
व्यक्तिको जग्गामा रेन्बो ट्राउट रेस–वे
रेन्बो ट्राउट रेस–वे व्यक्तीको जग्गामा बनाइएको छ। सहकारीको स्वामित्वको जग्गामा बन्नुपर्ने रेन्बो ट्राउट रेस–वे स्थानीय सात जनाको नाममा रहेको जग्गामा बनाइएको हो। जग्गा लेनदेनको मौखिक सहमती भए पनि मन्जुरीनामा बिनै व्यक्तिको जग्गामा रेन्बो ट्राउट रेस–वे बनाइएको हो। रेन्बो ट्राउट रेस–वे बनाएर छाड्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ। खण्डहरझैं बनेको पोखरी सञ्चालनमा ल्याउनका लागि सहकारी, वडाकार्यालय र नगरपालिकाको ध्यान जान सकेको छैन।
सहकारीको स्वामित्वमा रहेको जग्गामा नबनाइएकै कारण रेन्बो ट्राउट रेस–वे सञ्चालनमा ल्याउन समस्या आएको वडासदस्य लोकेन्द्र राई बताउँछन्। रेन्बो ट्राउट रेस–वे बनाउने क्रममा चित्रकुमार र हरिक्तबीच हिसावकितावका विषयमा मनमुटाव सुरु भएपछि सो संरचना प्रयोग गर्ने विषय थाँती रहेको कतिपयको बुझाई पनि छ। “सहकारीको शेयर सदस्यबीचमा छलफल नै भएन भन्ने गुनासो छ।
सहकारीको स्वामित्वमा रहेको जग्गामा नबनाइएकै कारण रेन्बो ट्राउट रेस–वे सञ्चालनमा ल्याउन समस्या आएको वडासदस्य लोकेन्द्र राई बताउँछन्। रेन्बो ट्राउट रेस–वे बनाउने क्रममा चित्रकुमार र हरिक्तबीच हिसावकितावका विषयमा मनमुटाव सुरु भएपछि सो संरचना प्रयोग गर्ने विषय थाँती रहेको कतिपयको बुझाई पनि छ। “सहकारीको शेयर सदस्यबीचमा छलफल नै भएन भन्ने गुनासो छ। अर्कातिर संरचना बनाइएको जग्गा सहकारीको नाममा नभएका कारण सञ्चालनमा ल्याउन समस्या भएको बुझिएको छ,” वडासदस्य राईले भने, “जग्गाधनीसँग बुझ्दा जग्गाको विषयमा केही कुराकानी भएको छैन। तर कुराकानी भयो भने हामी जग्गा दिन तयार छौँ भनिरहनु भएको छ । कसरी सञ्चालन गर्ने भन्ने वारेमा पहल भएको छैन।”
नगरपालिकामा छैन खर्च विवरण
नेर्पामा निर्माण गरिएको रेन्बो ट्राउट रेस–वेमा भएको खर्चको यकिन विवरण भने नगरपालिकासँगै छैन। रेन्बो ट्राउट रेस–वे सम्वन्धी विवरण गायवझैं गरिएको छ। रेन्बो ट्राउट रेस–वेमा भएको खर्चको विवरण उपलव्ध गराउनका लागि पत्रकार राजकुमार भट्टराईले २०७९ पुस १२ गते नगरपालिकामा निवेदन दिएका थिए। २०७९ पुस २४ गते नगरपालिकाले दिएको लिखित जवाफमा ‘नेर्पामा सो योजना नै सञ्चालन नभएको’ उल्लेख छ।
गत पुस २९ गते नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा रेन्बो ट्राउट रेस–वे लगायतका संरचनाको पारदर्शीतामाथि प्रश्न उठेपछि मेयर तीर्थराज भट्टराईले ‘लागत र सञ्चालन हुन नसक्नुको कारण’ बारे हप्ता दिनभित्र प्रतिबेदन बुझाउन पशु सेवा शाखा अधिकृत गणेशप्रसाद आचार्यलाई निर्देशन दिएका थिए। आचार्यले माघ ७ गते बुझाएको प्रतिबेदनमा रेन्बो ट्राउट पालनका लागि तयार पारिएको सम्पूर्ण संरचना निर्माणका क्रममा उपभोक्ताले बेहोर्ने बाहेक १९ लाख खर्च भएको उल्लेख छ।

“नगरपालिकाको आर्थिक प्रशासन शाखामा कागजात हेरीमाग्दा केही जानकारी प्राप्त हुन सकेन, उक्त समयमा काम गर्ने लेखाका कर्मचारी सरुवा भएको र त्यस समयमा लेखामा सुत्रको थालनी नभएकाले लेखाबाट रेकर्ड देखिएन,” प्रतिबेदनमा भनिएको छ, “ट्राउट माछा पालन नहुनुको कारण जग्गा लिजमा नलिइ बिश्वासका भरमा पुर्वाधार निर्माण भएको र पुर्वाधार निर्माण भएपछि जग्गामा विवाद भएर सुचारु हुन नसकेको रहेछ।”
प्रतिबेदनमा पोखरीको पानी झर्ने ठाउँमा सिमेन्टेड कुलो नबनेको, मुहानको इन्टेकमा पानी झर्ने पाइप जडान नभएको औंल्याइएको छ ।