चिसाङ शेर्पा/सन्तोष पौडेल
खोटाङ- तिहारमा एटिमए मेशिन पुगेका सेवाग्राहीहरुले एटिएमले काम नदिदा शास्ती खेप्नु परेको छ ।
आफ्ना सबै काम सकेर एटिएमबाट पैसा निकालेर किनमेल गर्न भनि दिक्तेलबजार आईपुगेका सेवाग्राहीहरु एटिएमले काम नगर्दा हैरानी खेपिरहेका छन् । दिक्तेलबजारमा रहेका विभिन्न बैंकहरुले दिक्तेलबजारमा एटिएम मेशिन राखेका छन् । तर, कुनै पनि एटिएम भरपर्दो छैन । काम पर्दा कामै लाग्दैन ।
सेवाग्राहीको गुनासो आएपछि हामीले मंगलबार दिक्तेलबजारका सबै एटिएम चेक गर्दा कुनै एटिएम मेशिनमा ताल्चा लागेको, कुनै एटिएम मेशिनमा पैसा नभएको र काम नगरेको भेटियो ।
आर्मी ब्यारेक मुढेमा राष्ट्रिय वाणिज्य बैंकले राखेको एटिएममा आज बिहानबाट पैसा नभएको गोरखनाथ गणका सुरक्षाकर्मीले जानकारी दिए । एटिएममा पैसा नहुँदा यात्राका क्रममा त्यही (मुढे ब्यारेक एटिएममा) पैसा निकालेर घर जान लागेका सेवाग्राही रित्तो हात फर्कनु परेको बताउँछन् ।
दिक्तेलबजारको नबिल बैंक, ज्योति विकास बैंकको एटिएम पुग्दा यी एटिएम मेशिनमा ताला(भित्र एटिएम,बाहिर ढोकामा ताला र सटर) लगाईएको पाईयो । सामान्य रुपमा बुझ्दा एटिमए मेशिनले २४ सैं घण्टा सेवा दिनुपर्ने हो तर, ती बैंकहरुले एटिएममा ताला लगाएको पाइयो।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलको एटिएममा आज मध्यान्ह १२ः५३ बजे पैसा निकाल्दा पैसा नभएको र शाखामा सम्पर्क गर्नु भन्ने सिलिप एटिएम मेशिनले दियो ।
राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाको एटिएम मेशिनमा पहिलेदेखि नै पटक–पटक समस्या हुँदै आईरहेको छ। एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका एटिएमले सेवा दिईएको पाईयो। तर, दीगो भने नभएको सेवाग्राहीहरु बताउँछन् ।
यी एटिएमले कछुवा गतिमा सेवा दिंदा सेवाग्राहीले हैरानी खेप्नु परेको बताउँछन् । जनतालाई सेवा दिन्छु भनेर खोलिएका बैंकहरुले एटिएम मेशिन राखेर किन त्यही जनतालाई ढाटेका हुन् ? एटिएम मेशिनमा ताला पनि लगाउन मिल्छ ? भनेर हामीले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई प्रश्न गरेका थियौ ।
प्रजिअ सुनारले बैंकले एटिएम राखेर सेवाग्राहीलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताउनुभयो । एटिएम राखेपछि २४ सैं घण्टा सेवा दिनुपर्यो । एटिएममा ताला लगाएर भएन । सुनारले भन्नुभयो । हिजो अस्ति पनि एटिएमको गुनासो आएको थियो । आज म आफै एटिएम पुग्छु । अवस्था बुझेर बैंकहरुलाई एटिएम अपडेट गर्नुहोस भन्छु । प्रजिअ सुनारले भन्नुभयो ।