खोटाङ - पानीसँगै परेको असिनाले खोटाङको रावाबेँसी गाउँपालिकामा लाखौंको क्षती गरेको छ।
गत बैसाख २ गते राती पानीसँगै परेको भिषण असिनाले रावाबेँसी गाउँपालिका–६ हौंचुरको पैयाँमा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ लाख बराबरको अन्नवाली क्षती भएको अनुमान गरिएको छ।
३१ घर परिवारको बसोबास रहेको पैयाँमा असिना पानीले आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफुलमा ठूलो क्षती पु¥याएको गाउँपालिकाका कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो।
अनुगमनका क्रममा २५ हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा १३ लाख बराबरको क्षती पुगेको प्रारम्भिक मूल्यांकन गरिएको छ। असिनाका कारण आलुको उत्पादन ८० प्रतिशतले घट्ने अनुमान गरिएको छ । आलुको बोट भाँचिएपछि जरामा फल्दै गरेको आलुको दाना माउ बनेर निस्कने भएकाले खान अयोग्य हुने र उत्पादनमा समेत -हास आउने कृषि शाखाका संयोजक राईले बताउनुभयो ।
यस्तै, १५ हेक्टर क्षेत्रफलमा लगाइएको करिब ६ लाख बराबरको मकै बालीमा क्षती पुगेको छ। करिब १० रोपनी जग्गामा पाकेर काट्नेबेला भएको २ लाख ५० हजार बराबरको गहुँ र जौ समेत असिनाले नष्ट पारेको छ।
यस्तै, १ हेक्टर जग्गामा लगाइएको नासपाती र आल्चामा एक लाख र १ हेक्टर जग्गामा लगाइएको स्याउमा ५० हजार बराबरको क्षती भएको गाउँपालिकाले जनाएको छ। असिनाले काउली, बन्दा जस्ता तरकारी बाली समेत पूर्णरुपमा नष्ट पारेको गाउँपालिकाले जनाएको छ ।
असिनाले क्षती पु¥याएपछि रुपाकोट फलफुल तथा तरकारी उत्पादन कृषक समुहले कृषिसँग सम्वन्धित कार्यालयसँग राहतका लागि गुहार माग्ने निर्णय गरेको छ।