• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


एकै घरमा परिवारका ४ सदस्य मृत प्रकरण : प्रहरीको आयो यस्तो निश्कर्ष

एकै घरमा परिवारका ४ सदस्य मृत प्रकरण : प्रहरीको आयो यस्तो निश्कर्ष

images

प्रभाव न्यूज

१९ श्रावण २०७९
  • 16.0K
    SHARES
  • images
    एकै घरमा परिवारका ४ सदस्य मृत प्रकरण : प्रहरीको आयो यस्तो निश्कर्ष
    images
    images
    images

    काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा नेपालका लागि अहिलेसम्मकै दुःखद घटना घट्यो । एकै घरमा परिवारका ४ सदस्य मृत अवस्थामा फेला परे।

    images

    परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका छैन भन्दै प्रहरी अधिकृतहरूले छिटो निश्कर्ष निकालेका छन्।

    तर आम नागरिकले प्रश्नै प्रश्न उठाएका छन्। प्रहरीको निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ।

    घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार पनि त्यहीँ बरामद हुनुले पनि हत्यापछि आत्महत्या भएकै विषयलाई थप पुष्टि गराउने प्रहरीको दावी छ।

    images

    घरमा सबै झ्याल ढोका लगाएकै अवस्थामा रहेकाले त्यो घरभित्रै भएको अपराध भनेर प्रहरीले विश्लेषण गरेको छ। ‘हत्यापछि आत्महत्या हो भन्ने विषयमा त्यति धेरै शंका रहेन,’ काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले पुष्टि गर्नुभएको छ।

    images

    घटनामा शंकास्पद पाटो सकिएको भन्दै जघन्य प्रकृतिको अपराध अनुसन्धानमा खटिने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि यसको जाँचबाट बाहिरिएको छ। तर घरभित्र बरामद भएको दिनेशले लेखेको ‘सुसाइड नोट’ले चाहिँ केही प्रश्नहरु जन्माएको छ, जसको उत्तरको खोजीमा अनुसन्धान अधिकृतहरु लागि परेका छन्।

    प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन्। ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन्, ‘तिमीले पनि मलाई कहिल्यै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो। तिमीले कहिल्यै मलाई बुझेनौं।’

    उनले आफूले ‘जे भयो–भयो’ भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन्। उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन्। उनका अनुसार दिनेशले श्रीमती सुनितासँग सम्बन्धका विषयमा स–साना विषय पनि उल्लेख गरेका छन्।

    विगतमा साउदीमा कार्यरत रहँदा बिदामा नेपाल आएका बेला पनि श्रीमती सुनिता कहिल्यै खुशी नभएको भन्दै उनले गुनासो गरेका छन्। ‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुशी हुन्थेनौं, १५ दिनजति त फकाउँदा फकाउँदै जान्थ्यो’ नोटमा भनिएको छ, ‘तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौं।’ उनले नोटको दुई पानामा दाइको नाममा लेखेका छन्।

    त्यसमा उनले विभिन्न व्यक्तिसँग तिर्नुपर्ने ऋणको विवरण पनि उल्लेख गरेको स्रोत बताउँछ। एक सहकारीको नाम उल्लेख गर्दै उनले त्यहाँ भएका पैसा निकालिदिएर केही व्यक्तिलाई ऋण चुक्ता गरिदिन पनि भनेका छन्।

    उनले दाइलाई ‘घरको स्थिति थाहा छँदैछ, त्यसैले बिदा लिँदैछु’ समेत भनेका छन्। घटना स्थलमा उपस्थितले भने दिनेशको भाउजुसँग नाजायज सम्बन्ध रहेकाले खटपट सुरु भएको भन्दै मिडियालाई बयान दिएका थिए।

    त्यतातर्फ के थियो? प्रहरीले अनुशन्धान नै गरिरहेको छ। एक अनुसन्धान अधिकृतका अनुसार सुसाइड नोटका सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिन्छ। सोमबार काभ्रेस्थलीमा दिनेशसहित उनकी श्रीमती सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीया छोरा आशिक मृत अवस्थामा भेटिएका थिए। सुरुमा घटनास्थलमा प्रहरी वृत्त बालाजुको टोली पुगेको थियो।

    यो प्रकृती हेर्दा यदि नाजायज सम्बन्ध नै हत्याको कारण थियो भने, फूलको कोपिला जस्ता यी साना बालबालिका किन मारे? आखिर श्रीमतीको हत्या गरिसकेका थिए। उनले आत्महत्याको सोच बनाएका थिए बने छोराछोरी किन मारे? यो अनुशन्धानमा जटिल बनेको विषय छ। टोलीका एक सदस्यका अनुसार दिनेशको शव नजिकै रहेको एक टेबलमा एक भाँडोले थिचिएको अवस्थामा पत्रहरु फेला परेका थिए। प्रहरी अधिकृतका अनुसार ‘जाँचमा दिइने पेपर जस्तोमा उनले सबै कुरा लेखेर छाडेका रहेछन्।’

    अनुसन्धान अधिकृतहरुका अनुसार उनले लेखेजति विषयहरु लेखिसक्न कम्तिमा पनि तीन घन्टा लाग्नसक्छ। र, ती विषयहरु सबै उनले हत्या गर्नुअगावै लेखेको देखिने अधिकृतहरु बताउँछन्। अन्तिमतिर पुगेपछि मात्रै उनले ‘जति सम्झाए पनि पार नलागेको’ भन्दै श्रीमतीप्रति आक्रोश पोखेका छन्। सुरुआतमा उनले श्रीमतीलाई माया गरिरहने बताउनुले उनी डिप्रेसनमा भएको पनि हुनसक्ने आशंका उब्जाएको अनुसन्धान अधिकृतहरु बताउँछन्।

    ‘अन्तिमतिर मात्रै उनले श्रीमतीप्रति आक्रोश देखाएका छन्, त्यसपछि मात्रै छोराछोरीको पनि औधी माया लाग्ने र सँगै लिएर जाने भनेका छन्।’ यो घटनामा लामो लेखौट बरामद हुनुले दिनेशले लामो समय अगाडिदेखि नै नोट लेखेको हुनसक्ने देखिएको मनोविद् गोपाल ढकालको विश्लेषण छ। ‘घटना विवरणहरु हेर्दा उनी डिप्रेसनमा भएको जस्तो देखिन्छ, उनले आत्महत्याका लागि पहिल्यैबाट तयारी गरेको पनि हुनसक्छ’ ढकाल भन्नुहुन्छ, ‘यसरी आत्महत्या भएका अधिकांश घटनामा नोटमा आफूसँग विकल्प भएन, कसैले बुझेनन् भनेरै लेख्ने गरिएको पाइन्छ।’ उहाँका अनुसार कतिपय अवस्थामा डिप्रेसनमा गएका मान्छेले एक्लै पनि आत्महत्या गर्नसक्छन्।

    तर कतिपयमा चाहिँ जसलाई निराशाको मुख्य कारण ठानेका हुन्छन्, त्यस्ता व्यक्तिको पनि हत्या गर्ने गरेको ढकाल बताउनुहुन्छ। उहाँका अनुसार काभ्रेस्थली घटनामा दिनेशले श्रीमती सुनितालाई नै यसको प्रमुख कारण ठानेकाले सुसाइड नोट लेख्दा लेख्दै आवेगमा आएर हत्या गरेको हुनसक्छ। ‘यसको मुख्य कारण भनेको पारिवारिक द्वन्द्व नै हो, यो समस्यालाई हल गर्नका लागि उनले हत्या र आत्महत्याबाहेकको विकल्प देखेनन’ उनी भन्छन्, ‘बच्चाको हकमा माया लागेर सँगै लगेको भनेर उनले नोटमै लेखेका छन्।’

    समग्रमा काभ्रेस्थली घटना दिनेशको मनमा रहेको लामो समयदेखिको कुण्ठा र आवेगको परिणाम भएको उहाँको दावी छ। काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा २३ फागुन २०७८ मा एकैपरिवारका ५ जना बेहोस अवस्थामा फेला परेको घटनामा पनि आर्थिक समस्याका कारण आत्महत्या गर्ने योजना बनेको खुलेको थियो।

    घटनामा एकजनाको मृत्यु पनि भएको थियो। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा पनि २३ भदौ २०७७ मा २६ वर्षीया सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरी आत्महत्या गरेका थिए, यसको कारण पनि पारिवारिक तनाव नै भएको प्रहरी निष्कर्ष थियो। प्रहरीले सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोपाल चौधरी नेतृत्वको फरेन्सिक टोलीलाई पनि घटनास्थलमा लगेको थियो।

    टोलीका एक सदस्यका अनुसार घटनास्थल र शवको अध्ययनबाट परिवारका चारै सदस्यको मृत्युको कारण ‘स्ट्याबिङ’ (छुरा प्रहार) भएको देखिएको छ। तीनैजनाको घाँटी, पेट र टाउकोमा चोट रहेको चिकित्सकहरूले प्रहरीलाई पनि बताएका छन्।

    दिनेशले चाहिँ विजुलीको तारले झुण्डिने प्रयास गरेको देखिएको छ। तर असफल भएपछि छुराले हानेको प्रहरी अधिकृतहरु बताउँछन् । फरेन्सिक विज्ञले पनि त्यही संकेत गरेका छन्। फरेन्सिक विज्ञहरुका अनुसार दिनेशले हत्या लगत्तै आत्महत्या गरेका थिए। शवको प्रकृति हेर्दा राति ११ देखि १२ बजेको बीचमा घटना भएको हुनसक्ने देखिएको चिकित्सकहरुले बताएका छन्।

    ‘राति खाना खाएर सबै सुतिसकेपछि पनि उनी नसुती नोट लेखेर बसेको हुनसक्छ’ नोट लेखिसकेपछि उनले यो घातक निर्णय लिएको देखिन्छ एक अधिकारीले भन्नुभयो। अस्पतालले पोष्टमार्टमको औपचारिक रिपोर्टचाहिँ प्रहरीलाई दिइसकेको छैन।

    images
    images

    प्रकाशित :श्रावण १९, २०७९ बिहिवार - १०:३८:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij