काठमाडौं, असार ८ – जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव नायब सुब्बा गणपति झाले जागिर अवधिमा चार करोड ८७ लख ३८ हजार २१० रुपैयाँ कमाएको खुलेको छ। जसमध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ आम्दानीको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०३९ साल मंसिर ९ गते सार्वजनिक सेवा प्रवेश गरेका झाले २०७८ सम्म ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ आम्दानी गरेका थिए। जसमा उनको वैध आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ। उनको स्रोत नखुलेको आम्दानी २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ।
झाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अवैध आर्जनको सम्पत्ति उनले घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सनका लागि खर्च गरेको अख्तियारको भनाइ छ।