संयुक्त राष्ट्र संघ (यूएन मिसन) मा खटिनका लागि २१३ जना नेपाली सेनाको टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ।प्रमुख सेनानी सुशील प्याकुरेलको कमान्डमा गोरखबहादुर गणबाट सातौं डफ्फाको टोली त्यसतर्फ गएको हो।
हाल त्यहाँ तैनाथ तारादल गण छैटौं डफ्फाको बदली गर्न टोली आइतबार बिहान सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
कोरोनाको महामारीका बाबजुद शान्ति स्थापनाका लागि टोली खटाउँदा सम्पूर्ण सुरक्षा सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाइएको सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए। दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमान्डमा २११ जना शान्ति सैनिकहरु सोमबार नेपाल फर्किने छन्।