कात्तिक ६, काठमाडौं - क्षेत्रीडाँडो फेसबुक ग्रुपले बालबालिका आश्रमलाई सहयोग गरेको छ। बडा दशैं तथा तिहारको अवशर पारेर ग्रुपले इटहरी उपहानगरपालिका वडा नम्बर-४ मा रहेको निसहाय बालबालिका सेवा आश्रमलाई सहयोग गरेको हो।
ग्रुपले आश्रममा रहेका ४१ जना बालबालिकालाई लक्षित गरेर त्यहाँ आवश्यक रहेको एक हजार लिटर क्षमताको एउटा खानेपानी ट्यांकी, १ कार्टुन खाने तेल, २ कार्टुन चाउचाउ, २ कार्टुन फ्रूटी, १५ केजी दाल, ६ केजी चना मटर र किशोरीहरुका लागि ५० प्याकेट सेनेटरी प्याड वितरण गरेको छ।
ग्रुपका एडमिन उमेश कोइरालाले बालबालिकाहरुसँग खुशी साट्ने तथा आश्रममा केही सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए।

जनक कार्की, शंकरबाबु पौडेल, उमेश कोइराला, सुदिप भण्डारी, रामबाबु न्यौपाने, नविना दाहाल, स्वेच्छा भण्डारी, सञ्जु भुजेल, सम्झौता दाहाल, जानकी खड्का र बद्री खड्का लगायतको उपस्थितिले आश्रमकी संचालिका माता सुश्री गीता गौतमलाई सामग्री हस्तान्तरण गरेका छन्।
क्षेत्रीडाँडो फेसबुक ग्रुपमा १० महिनामै २६ हजार बढी सदस्य रहेका छन्। समाजिक अभियान्ता उमेश कोइराला एडमिन रहेको सो ग्रुप सामाजिक कार्यको लागि निर्माण गरिएको बताइएको छ। ग्रुप स्थापना गरेको १० महिनामै २६ हजार मानिस ‘जोइन’ भएका छन्, हामीले देश विदेशमा छरिएर रहेका नेपालीहरुलाई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा गर्ने तथा सामाजिक कामका लागि सहयोग गर्ने वातावरण सृजना गर्ने उद्धेश्यले ग्रुप स्थापाना गरेका हौं, ग्रुपका संचालक तथा एममिन कोइरालाले बताए।
उनले भने, ‘समस्यामा परेका मानिस तथा समुदायलाई आफुले सकेको सहयोग जम्मा गरेर उपलव्ध गराउने एउटा सामाजिक संजाल स्थापना गरेका हौं। आगामी दिनमा पनि ग्रुपले निरन्तर सामाजिक सेवा गर्नेछ।’