बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिए भन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।
युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।
संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ ।
यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो ।
उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ । इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् ।
युरोपेली युनियन ईयूले पनि स्वीकृत भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।