असार ११ खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष ०७८/ ०७९ को निति तथा कार्यक्रम तथा विभिन्न विधेयकमा ५८ करोड १६ लाख २८ हजार चार सय पचास रुपैंया बजेट सर्वसम्मत पारित पारित गरेको छ।
स्थानीय सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ। नगरपालिकाले भूमी बैंकको अवधारणलाई अवलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, अर्गानिक व्यवसायीक कृषि प्रवद्र्धनमा जोड दिने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, नगरका सार्वजनिक जग्गामा केरा खेती गर्न प्रोत्साहन गर्ने, एक वडा एक कृषि / पशु पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने, हरेक वडामा कृषिजनय वस्तुको संकलन केन्द्र स्थापना गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुट जस्ता नगदेबाली खेती गर्नेलाई प्रोत्साहन स्वरुप नगद प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ।
यस्तै, पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालनमा ल्याउने, स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्ने, गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता उत्पादनलाई आगन्तुकलाई मायाँको चिनो र कोसेसी स्वरुप विक्री-वितरणको व्यवस्था मिलाइ प्रवद्र्धन गर्ने, चाम्लिङ, वाम्बुले र तिलुङ भाषाको स्थानीय पाठ्यक्रम निर्माणका लागि गठित कार्यदललाई गति दिने, एक विद्यालय एक पुस्तकालय नीति व्यवस्थित गर्दै जाने, नगर शिक्षकलाई निरन्तरता दिने, चाम्लिङ, वाम्बुले, तिलुङ र मगर भाषा कक्षा सञ्चालन गर्ने विद्यालयलाई एकमुष्ट अनुदान दिइ प्रोत्साहित गर्ने, गम्भीर प्रकृतिका रोगको उपचारार्थ सहयोग कार्यविधि बमोजिम कार्यान्वयन प्रकृयालाई निरन्तरता दिइने, एक वडा एक महिला सहकारीलाई निरन्तरता दिने, वाल बिवाहमुक्त नगर घोषणा गर्न जोड दिने, यस आर्थिक वर्ष उज्यालो नगर घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, किरातीको भाषा, संस्कार, संस्कृतिको लागि अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाको रुपमा परिचित गराउने, नगरपालिकाको कामकाजमा चाम्लिङ भाषा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा वाम्बुले र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा तिलुङ भाषालाई मान्यता निरन्तरता दिने, त्यी वडाको लेटरहेडमा तततत भाषाको लिपीको प्रयोगलाई निरन्तरता दिने, ऐतिहासिक कागजात तथा दस्तावेजहरु संकलन गरी पुस्तक प्रकाशन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
हेर्नुहोस, नगरपालिकाले ल्याएको बजेटको पूर्णपाठ
आव २०७८, ०८९ को लागि प्रस्तावित बजेट