असार ११, खोटाङ - खोटाङको साकेला गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ३२ करोडभन्दा बढीको अनुमानित बजेट ल्याएको छ।
बिहिबार सम्पन्न गाउँसभाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने रकम र पालिकाको आन्तरिक राजस्वको प्रक्षेपण रकम गरी आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि अनुमानित २३ लाख ९० हजार ७३० रुपैयाँ बराबरको बजेट ल्याएको हो।
गाउँपालिकाका आर्थिक विकास संयोजक मिलन चाहारले प्रस्तुत गरेको बजेट भाषणमा कुल बजेटको सशर्त अनुदान, विशेष अनुदान, समपुरक बाहेकका बजेटबाट प्रशासनिक खर्च (चालु) तर्फ ५ करोड ६ लाख ५ हजार ७३० रुपैयाँ विनियोजन गरेपछि बाँकी रहेको ८ करोड ३४ लाख ६ हजारको सिमांकनमा रहेर बजेट बनाएको उल्लेख छ।
५ वडा रहेको गाउँपालिकाले यस वर्ष वडामा सिलिङ नपठाइ मागका आधारमा बजेट पठाएको जनाएको छ। बजेटका विषयमा असहमती जनाउँदै गाउँपालिका उपाध्यक्ष सरिता खड्का, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङ, साकेला गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिस्कार गरेपछि आर्थिक विकास संयोजक चाहारले बजेट पेश गरेका थिए।
बहिस्कारका बावजुद चाहारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटलाई गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बहुमतले अनुमोदन गरेका छन्। साकेला गाउँपालिकाका लागि नेपाल सरकार अर्थमन्त्रालयबाट वित्तिय समानीकरण अनुदान अन्तरगत ७ करोड ५० लाख, राजस्व बाँडफाँड अन्तरगत ५ करोड ६ लाख १४ हजार र सशर्त अनुदानतर्फ १६ करोड ८४ लाख गरी २९ करोड ४० लाख १४ हजार प्राप्त हुने छ।
यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान अन्तरगत ४० लाख ८६ हजार, सवारी बाँडफाँडबाट २६ लाख ९१ हजार ७३०, समपुरक अनुदान वापत १ करोड र सशर्त अनुदानतर्फ ९९ लाख ७९ हजार गरी २ करोड ६७ लाख ५६ हजार ७३० रुपैयाँको सिमाभित्र रहेर बजेट ल्याइएको हो।
गाउँपालिकाबाट १६ लाख २० हजार राजस्व रकम जम्मा हुने प्रक्षेपण गरिएको छ।