खोटाङ- एक ट्याक्टर अवैध काठ सहित खोटाङमा सात जना पक्राउ परेका छन्। बराहपोखरी गाउँपालिका वडा नम्बर–१ बराहपोखरीको डुम्रीबोटेबाट अवैध सखुवाको काठ सहित सात जना पक्राउ परेका हुन्।
बराहपोखरीको डुम्रीबोटेबाट ३५.७५ क्युफिट अवैध सखुवाको काठ को २ त ५२१३ नम्बरको ट्याक्टरमा राखेर खोटेहाङ गाउँपालिकाको खोटाङबजारतर्फ लैजानेक्रममा प्रहरी चौकी बराहापोखरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता अमर प्रसाद गजमेरले जानकारी दिए।
पक्राउ पर्नेमा ट्याक्टर चालक खोटेहाङ गाउँपालिका –७ खोटाङबजार घर भएका ३२ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँका २४ वर्षीय धिरज ताम्राकार, ३० वर्षीय सुजन श्रेष्ठ, ३३ वर्षीय सञ्जिव श्रेष्ठ, २४ वर्षीय गोविन्द राउत र सोही ठाउँका २ वालक लाई नियन्त्रणमा लिइएको गजमेरको भनाई छ।
पक्राउ परेका सातै जना, काठ र ट्याक्टर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय खोटाङलाई बुझाइएको प्रहरीले बताएको छ।