काठमाडौं - इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ। विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका साथै अल–कुद्स, र इन्डोनेसियन अस्पतालहरु नजिक विष्फोटका ठूला आवाज सुनिएको छ ।प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।
आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ । यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ।
इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ ।यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो।
यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन्।