ज्ञानेन्द्र विवश / प्राकृतिक छटा चित्रमय संसार हो आँखाले देख्नु । प्रकृतिको काखमा लुटुपुटु गर्दै खेल्नु । प्रकृतिको आनन्दमा झुम्नु । प्रकृतिसँग साक्षात्कार हुनु । यो अनौठो आनन्द हो आफैँमा । आफ्नै प्यारो जन्मथलो वा प्यारी आमाकै काखमा खेल्न पाउनुको खुसी । भाग्यमानीलाई मात्र मौका मिल्छ यस्तो सन्तुष्टि । यसरी काखैमा हराउँनु, निदाउँनुजस्तो सुख र शान्ति अन्त कहाँ भेटिन्छ र ?
आफ्नो देशको माटोको सुगन्ध मीठो हुन्छ । आफ्नै गाउँको प्राकृतिक छटाको खुस्वु झनै प्रिय लाग्छ । आफ्नो जन्मभूमिभन्दा प्यारो अरु केही हुन्न । मलाई पनि मेरो प्यारो गाउँ, मेरो ग्रामीण पाटा र पखेराहरु प्रिय लाग्छ । मेरो बाल्यकालीन ग्रामीण जीवनका प्राकृतिक छटा र छविहरु कति–कति ! तिनै सुन्दरताका मुहार–मुस्कानहरुमाथि मेरो यो आलेख–
वास्तवमा प्रकृति भनेको जीवन हो । प्रत्येक पल जीवनको श्वासप्रश्वास समग्र हो । आँखाको आनन्द र मनको शान्ति हो । प्रकृतिकै सरोवरले सुशोभित छ गाउँ । प्रकृतिकै अनेक रुपले सिँगारिएर रमाइलो बनेको छ ग्रामीण परिवेश । मेरो प्यारो गाउँ । मेरो प्यारो प्रकृति र परिवेश । म तिम्रै आङमा बामे सर्दै, ताते गर्दै हुर्किएँ । म तिम्रै काखमा खेल्दै, खाँदै हिँडेँ । तिम्रै हरियालीमा हराएँ । तिम्रै छहरा–पहराहरुमा गुञ्जिएँ । प्रकृतिप्रेम मैले तिमीबाटै सिकेँ ।
त्यसैले मलाई प्रकृतिको काख प्यारो लाग्छ । ती गुफा, पोखरी, चट्टाने पर्वत, छाँगा र छहराहरु । लहलहाएका बालीले भरिपूर्ण खेतका फाँटहरु । बेँसी, गढतिर, उकाली, चौतारी, देउराली र भञ्ज्याङका ग्रामीण सुसेलीहरु । आफ्नै स्वच्छ प्राकृतिक छटा र छविहरु । प्रकृति र जीवनका मितेरीहरु । मेरो जन्मभूमि खोटाङका चित्र र चिनारीहरु । तिनै हुन् पृथ्वीको सौरव, हाम्रो गौरव !
पूर्वको परिचय बनेर स्थापित प्रसिद्ध तीर्थस्थल हलेसीधाम यहीँ छ । हलेसीगुफा र बसाहगुफाको प्रसिद्धि र प्राचीनता छँदै छ । यस अतिरिÏ बुढेश्वर महादेव गुफा, गुप्तेश्वर गुफाको सन्दर्भ पनि बेग्लै हुन सक्छ । यहाँ गहना भएर उभिएका धेरै डाँडा, पहाडहरु छन् । जमिन उर्वर बनाएर बगेका नदीहरु । जीवन धान्न आफ्नै बारीपाखामा उब्जिने खेतीका अनन्त अन्न भण्डारहरु ।
प्राकृतिक छटा र छविका अनेक रुपरङ जीवन्त छन् । पहाडी पत्थर फोरेर वेगबतासले उर्लिने छाँगा र छहराहरु । पोखरी, गुफा, गुराँसे वन र वनस्पतिहरु । दिप्लुङको जन्तेढुङ्गा, गुन्टे र डोलीढुङ्गाको आफ्नै रोचक विगत । नामअनुसारको अनौठो बनावट छ यिनको । चिसापानीको नागढुङ्गा, अर्खौलेको सुत्केरी ढुङ्गा, सुङ्देलको चिलिमढुङ्गा आदि पनि यहाँका ऐतिहासिक स्तम्भ । महुवागढी, मझुवागढी, मालाथुम्की तुवाचुङ जायजुम किराँत सभ्यताको उत्पत्ति थलो । यस्ता गढीहरुले पुराना चिनो–चित्र दर्शाउँछन्।
यी सबैले गाउँको प्राचीनता र सुन्दरता बढाएका छन् । यिनले ग्रामीण परिवेशको आत्मा सजाएका छन् । अनि सामाजिक संरचनामा मित्रताभावको सुन्दर बिहानी उदाउने गरेको छ । त्यही जीवन र प्रकृति एक भएर सांस्कृतिक धरोहर निर्माण गराएका छन् ।
यहाँका स्थानीय सबै सम्पदाहरु प्राकृतिक हुन् । तिनको संरक्षण हुन भने सकेको छैन । यसले समयको कालखण्डमा कतिपय स्थानका अस्तित्व विलाउँदै गएको छ । तथापि प्रकृतिको काखमा लुटुपुटु गर्नुको बेग्लै मजा छँदै छ ।
धन्य मेरो प्यारो धरती, जन्मस्थलको परिधि । साँच्चै सुन्दर–सुन्दर । छितापोखरीस्थित धिप्लुुङको झरनाले स्थानीयसँगै आगन्तुकहरुलाई पनि स्वागत गर्छ । यस झरनालाई तलबाट हेर्दा चट्टानको शरीर हुँदै आकाशबाट ह्वात्त खसेझैँ लाग्छ । यो यस्तो झरना जुन छङ्छङ्गिदै हैन माथिदेखि तल सिधा लामो र सेतो धर्सोजस्तै बनेर एकनाश झरेको । सुरिलो सल्लाको रुख जस्तो देखिन्छ । जिल्लाकै लामो झरना मानिने यो स्थान उत्तिकै मनोरम ।
झरना वरपरको रुखपात दर्शक हुन् । तिनले एकनाश त्यो सौन्दर्यलाई पिइरहेका छन् । हेरेर थाकेका छैनन् वनस्पति । हुन पनि एकक्षण हेरेर आँखाको धित मर्दैन । प्राकृतिक सुन्दरताले आँखामा स्पर्श गर्न आउँछन् । दृश्य ओझेलिए पनि झरनाको गतिमान प्रवाह याद्गार हुन्छ । साङ्गीतिक सुसेली कानमा झङ्कृत भइरहन्छ ।
अनुपम छ झरनाको सौन्दर्य । त्यसैले यसमा मन लोभ्याउने आकर्षण । हरपल आँखालाई लोभ्याइरहनेक्षमता । अनकन्टार पहाडमा अलग्ग सौन्दर्यको अघाउँजी सुवास मगमगाइरहेको हुन्छ यत्रतत्र ।
त्यसो त, रतन्छास्थित मोबुको झरना पनि कम आकर्षक छैन । बेलिया खोलाबाट झर्ने यो झरनाको बयान पनि बखान गर्न लायककै छ । प्राकृतिक सुन्दरताको छटाले यसको स्वरुप लोभ्याउने बनाइदिएको छ । यसै झरनाको पानी जमेर तल गाग्री जस्तै आकार निर्माण भएको छ । त्यसलाई ‘गाग्रीदह’ नामले चिनिन्छ । नामै कति मौलिक छ– ‘गाग्रीदह’ ।
वरपरका हरिया वनस्पतिको काख चुम्दै चुम्दै यो झरना बगेको । चट्टानमा ठोक्किदै बेग्लै स्वर–शैलीमा पानीको स्वछन्द छाल छचल्किँदै झरेको झरना । यसको सौन्दर्यपान गर्न पाउनुको आनन्द पनि कम प्रीतिकर लाग्दैन । कम रमाइलो हुँदैन मनलाई । किनभने ग्रामीण परिवेशको भूमिमा यति मनोरम स्थल छ । यसलाई भेट्न, देख्न र आँखाले अघाउँजी पिउन पाइन्छ ।
बराहपोखरीको ऐतिहासिक महत्व बेग्लै छ । पहाडहरुले घेरेर बनेको सानो उपत्यकाको सुन्दर बनौट । बराहपोखरीसँगै बगरका फराकिला फाँट । तिनैमा मेला भर्न आएका मानिसको छिचोली नसक्नुको घुइँचो । अनि यहाँका गाउँमा फल्ने आँप, अम्बा, कटहरको स्वादै चखिलो हुन्छ । पोखरीमा लाग्ने वार्षिक मेलाको बेग्लै आकर्षण ।
पोखरीकै डिलमा रहेको शङ्खेश्वर महादेवको पूजापाठ । पोखरीमा चढाइने जोडी परेवा । गरिने स्नान । ढोलझ्याम्टाको तालसँगै धामीझाक्रीको नाच । टाढा–नजिकबाट आएका मानिसको भीडभाड । हजारौँ दर्शनार्थीहरु । व्यापारी र मेला भर्न आएकाहरु । यी सबैले एक रात, एक दिनको बराहपोखरी मेला अविस्मरणीय बन्छ ।
खोटाङ–भोजपुरको सीमास्थित जलजला पोखरीले घोडाघोडी तालको सौन्दर्यलाई बिर्साइदिन्छ । घोडाघोडीजस्तो पोखरी विशाल होइन । पोखरीहरु पहाडका सुन्दर स्वरुपका प्रतीक हुन् । साल्पापोखरीको सुन्दरताले से–फोक्सुण्डोतालको झल्को दिन्छ । नीलो दह र त्यस वरपरको चट्टाने पर्वत । पोखरीलाई घेरेर सुरक्षा र सौन्दर्य प्रदान गरिरहेझैँ लाग्छ त्यसले ।
त्यसैगरी दुबेखोलको खेतका फाँट । हेर्न लायक खेतका गह्रा र त्यसका आकार–प्रकार । बाङ्गाटिङ्गा हुँदै फैलिएका गह्राहरु । कतै सुक्दै, कतै फुक्दै विस्तारित भएका खेतका आयामहरु । कहीँ भने एकनाशले मिलेका गह्राका सुन्दर आकृतिहरु । तिनै गह्रा–गह्राका भ¥याङ बनेर क्रमशः होचिँदै गएका तरेलीहरु । अनि त्यसमा लहलहराएका अन्नबालीका दृश्य । बिस्तारै बग्ने हुस्सुको हैरानी । तर त्यसले पनि प्रकृतिलाई सिँगार्छ बेग्लै सुन्दरताले । मानौँ एक कुशल कलाकारले मेहनतगरी पानीरङमा उतारेको कलात्मक दृश्यचित्र जस्तै । अनेक रङहरुको सुन्दर संयोजनले बनेको संरचनाको बेग्लै ग्रामीण मौलिकताको स्वरुप ।
त्यसैगरी मलजल पुगेर हलक्क हुर्किएका हरियालीपूर्ण बेलामा खेतको रौनक बैँशालु बनेको हुन्छ । पाकेका बाली भरिपूर्ण भएर कृषकलाई सन्तुष्टि प्रदान गरिरहेको हुन्छ । धान–गहँु पाकेर बनेका दृश्य । तोरी फुलेर फैलिएका पहेँलपुर फाँटहरु । लाग्छ, खेतबारीमा सुन फलेर झुलिरहेका । किसान तिनलाई देखेर दङ्ग । आफ्ना सपना पूरा भएकामा हर्षित छन् ।
साँच्चै हरेक किसानका सपना खेतका गह्रा–गह्रामा अन्नभण्डार बनेर हाँसिरहेका छन् । त्यसैले आफ्नै खेतमा फलेका सुनको उत्पादनले आनन्दित छन् । ग¥हाका मनोरम दृश्य अनि खेतीबालीको समृद्ध पहिचान । यसले मन रमाउनु स्वाभाविक हो ।
पहाडी उचाइ भूगोलमा मन रमाउने कुराको आधुनिक सुविधा छैन । तर प्राकृतिक संरचनाको खातैखात छ । जैविक विविधता र सम्पन्नताका धेरै चीजहरु छन् । मुख्य कुरा तिनलाई आत्मसात् गर्ने मन हुनुपर्छ । तिनको रुपरङलाई ग्रहण गर्ने मानसिकता चाहिन्छ ।
साप्सु धाप बजारको अर्को पाटो स्थानीय जीवनको विश्राम थलो । जहाँ भेटिन्छन् वल्लो र पल्लो गाउँका बूढादेखि तरुना पुस्तासमेत । गाउँलेको किनमेल, भेटघाट र मन बहलाउने यौटा स्थान । पहाडी फेँदीको बेँसी थलोमा आरामविरामको सोधनी हुन्छ । वर्षौंपछि भेटिनेहरु खुशीले रमाउँछन् । हो, यही हो मेरो ग्रामीण पाटो र पखेरो । प्राकृतिक छटाको अनुपम सङ्गमको थलो ।
मेलाका भेलाले अघाउँजी नहुने स्थानीय कमै होलान् । किन्ने, बेच्ने, घुम्नेहरु हुन्छन् । मेला हेर्नेदेखि मेलामा खाने पिउनेसम्म गर्छन् । अनि आपसमा हार्दिकता साटेर रमाउँछन् । तिनै सम्झना बोकेर फर्किन्छन् ।उमेर अनुसारको वार्ता–बिसौनीहरु । दौँतरी–दाँवलहरुको गफगाफ । मित–मितेनीहरुको आपसी संलाप । माइती–चेलीबीचका दुःखसुखका सुस्केराहरु ।
सोल्टी–सोल्टिनी र प्रेमी–प्रेमिकाहरुका खासखुस । मिलाप र विलापका दृश्यहरु । बल्लतल्लको भेलामा भेटिन्छन् थुप्रै संवाद–संलापहरु । फरक पुस्ता, फरक नातासँगै तिनका गफगाफले समय बितेको पत्तै हुँदैन । आ–आफ्ना परम्परा उहिलेदेखि अहिलेसम्म उस्तै छ निरन्तर ।
यस्तै उचाइ थाप्लो कुइभिर, ट्याम्के डाँडा र भञ्ज्याङखर्क बजारमा लाग्ने मेलाको रौनकले पनि स्थानीय बीचको आत्मीय भेटघाट र भलाकुसारीलाई अझ प्रगाढ पार्न मद्दत गर्छ । यी ठाउँमा लाग्ने सबै हटिया भेलामा किनमेलका साथै नाचगान हुन्छ । खेलतमासा तमाम मनोरञ्जन हुन्छ ।
यहाँबाट चारैतिरका पहाडी श्रृङ्खलाहरुलाई आँखाको वरिपरि राखेर हेर्न सकिन्छ । हिमाली लस्करका ताँती पनि अघाउँजी देख्न पाइन्छ । आकाशलाई पनि छोउँलाझैँ गरी नीलो रङमा लुट्पुटिन पुगिन्छ । साँच्चै यी ठाउँबाट आकाश धेरै टाढा छैन होला भन्ने आभास हुन्छ । खुल्ला ठाउँ, स्वच्छ वातावरण । शून्य स्थानमा प्रकृतिको विशाल फाँट यसबाहेक अरु केही देखिँदैन ।
चुलिएर फैलिएका पहाडी उचाइका पाटन । तिनमा लडिबुडी खेल्दै आफैँमा हराउनुको मज्जा आफ्नै ठाउँमा छ । प्रदूषणको कुनै प्रकोप भेटिँदैन यहाँ । प्रकृतिको खुल्ला परिवेशमा सौन्दर्यको स्वरुप मात्रै जताततै भेटिन्छ । गुराँस फुलेको याममा देखिने दृश्यको आकर्षणले खास प्रकृतिको स्वाद चखाउँछ । पूर्ण प्राकृतिक यात्राको सुखद अनुभूति गराउँछ । ट्याम्के आसपासका दृश्यले मात लगाउँछ । यहाँका अन्य डाँडा, लेकबेँसीको भ्रमण पनि निकै स्मरणीय बन्दछ ।
यहाँकै अर्को मेरुङडाँडाको आकर्षण पनि अर्कै छ । धार्मिक र पर्यटकीय गन्तव्य पनि हो यो ।
साप्सु खोलाको मुहान पनि हो यो । यसै भेगमा सारा गाउँलेको मेला लाग्छ । पूजापाठ हुन्छ । सांस्कृतिक संस्कारको स्पन्दन दर्शनीय बन्छ । कैयौँै गाउँलेहरुको परिचय त्यहाँ नवीकरण हुन्छ ।
मेरुङको मेलामा आएकाहरु उकालो चढेर त्यहाँको वास्तविक सौन्दर्यलाई आँखाले पिउँछन् । त्यहाँबाट हरियो र भरिलो पहाड र खेतबारी देखिन्छ । हिमाली उचाइलाई पनि आँखाको प्यासले तिर्खा मेट्न सकिन्छ । फरक दृश्य, पृथक अवस्थितिका
संरचनाहरुको उपस्थिति भेटिन्छ । प्राकृतिक बनौट र वनस्पतिहरुले आगन्तुकलाई स्वागत गरिरहन्छ । कस्तै ठिहीमा पनि चिसो प्रकोपको कुनै पीडा छैन । गर्मीको तातो धूपमा समेत अविचल पहाडी शिखर ठडिएर नतमस्तक भइरहेको । हरपल हरेक प्रकृतिप्रेमीलाई मोहित पारिरहेकै हुन्छ ।
मेरुङ पहाडको थाप्लोमा विसाएर देखिने प्राकृतिक छटा छुनेहरुलाई नै थाहा हुन्छ । त्यहाँ घुम्ने र त्यहाँ पुग्नेहरुलाई त्यहाँको खास प्रकृतिले प्रथम स्पर्शमा रोमाञ्चित पार्न सक्छ । हिउँदमा हिउँ परेर ती भेगमा पार्ने अर्को दृश्य । हिउँद निख्रिएपछिको याममा भेटिने ‘हिस्सी’ परेको ‘हरियाली दृश्य’ ।
वास्तवमा यसबेला यहाँ पुग्दा पाखैभरि फुलिरहेका राताम्मे लालिगुराँसले स्वागत गर्छ । अग्ला–अग्ला चिमलका फूलहरुले मन तान्छ । पहाडी परिवेश नै यतिबेला अर्कै साजश्रृङ्गारमा मदमस्त भइरहेको हुन्छ । प्रकृतिसँग लुकामारी खेल्ने र प्रकृतिको काखमा लुट्पुटिनेहरुको बेग्लै समूह यहाँ ओइरिन्छ ।
प्रकृतिको सुन्दरता र सुगन्धले मैयुँ, मेरुङ, सेल्मे, ट्याम्के, रुपाकोट, नेर्पा, नूनथला, धारापानी आदि शोभायमान भइरहेका हुन्छन् । खुलेको मौसममा सूर्योदय र सूर्योस्तको रक्तिम लालिमाले मन छुन्छ । सराङकोट, नगरकोट, अन्तुडाँडा आदिबाट देखिने दृश्यलाई विर्साइदिन्छ ।
यस्तो मगमगाउँदो वातावरणले यात्रीको मन खिच्छ । अनि प्रकृतिसँग गुन्गुनाउँदै खेल्नेहरुको बाक्लो उपस्थिति यहाँ हरेक वर्ष दोहोरिरहन्छ । शीतल हावा, चराचुरुङ्गीका चिरविर, जङ्गलको जैविक विविधता । यी सबैको समायोजनमा रमाउन पाउनु अहोभाग्य नै हो ।
साँच्चै प्रकृतिको यति मनोरम उचाइ स्थलमा लाडिएर रमाउँदै जति बसे पनि अघाइँदैन । निस्फिक्री चरा उडिरहेका हुन्छन् । सुनाखरी झुलिरहेका हुन्छन् । आँखाको तृप्ती पूर्ण हुँदैन । मनको चाहना सकिँदैन । मन रमाउन पुगेकै हुँदैन । आँखाले हेर्न भ्याएकै हुँदैन । एकपछि अर्को चित्रमय दृश्यहरु आइरहन्छन् ।
ट्याम्केको अटल टलक । लौरे र सालिचुङ पहाडका सुन्दरता । तावाभञ्ज्याङ, चखेवाभञ्ज्याङ, पान्धारे आदि स्थानीय पहाड । गुराँसे जङ्गलका मनमोहक भण्डार पनि हुन् यी । यहाँ पाइला
टेक्नेहरुलाई नै थाहा हुन्छ यिनको दृश्य–रुप । अनुकूल मौसममा देखिने मनोहारी स्वरुप । सफा धरतीमा पहाडी चुलीका श्रृङ्खला । एकपछि अर्को मिलेका ताँती । चित्रमय दृश्यमा हराउँदै आगन्तुकका आँखाले पिउँछन् तन्तनी तिनलाई । रुपाकोटको फाँट र उचाइ अनि यहाँबाट देखिने दृश्यको पनि आफ्नै महत्व छ । हिमाल र पहाडका उचाइलाई यहीँबाट छुन सकिन्छ । पहाडी खोंचका गहिराइ र गढतिरलाई पनि यहाँबाट नियाल्न पाइन्छ । अनि अनेक अवसर पारेर मान्छे यहाँ ओइरिरहन्छन् । घाँसदाउराको भारी बिसाएर विश्राम गर्छन् । वस्तुभाउ, मेलापात कामधन्दाका घरेलु थकाइ विसाउन यहाँ आउँछन् । अनि लेकाली लोकभाकाको लय गुञ्जिन्छ ।
अन्ततः एकछिन भए पनि यहाँ मन विसाएर पहाडी तरेलीमा आँखा र मनलाई भुल्याउने कोसिस गर्छन् । त्यो कोसिसमा जीवन, समाज र समयका समग्र पक्ष उद्घाटित हुन्छन् । तिनले पीडा विर्साउने र शान्तिको शुभारम्भ गराउने चेष्टा गर्छन् । पहाडी ताँतीका क्षितिजले बनेका एकपछि अर्को तह–तह घेरा कलात्मक रुप प्रकृतिको वरदान पनि हो ।

साँझ–बिहान घामको किरणले प्रकृतिमाथि पार्ने प्रभाव चित्ताकर्षक बन्छ । वर्खायाममा बिस्तारै बग्ने हुस्सुको हिँडाइका दृश्य–क्यानभास अवर्णननीय नै हुन्छ । मन छुने दृश्यको उपस्थिति । प्रकृतिप्रेमीका लागि अर्को सुन्दरताको शुभारम्भ बन्छ ।
यी पहाडी भूगोलमा तिनको स्वरुपले मानिसलाई प्रकृतिको निकट पु¥याउन खोज्छ । त्यसैले रुपाकोट साँचो अर्थमा प्रकृति र जीवनको एक सुमधुर सङ्गम पनि हो । यहाँका वनजङ्गलमा फुल्ने लालिगुराँसका शोभायमान फूलहरुले हरेक वर्ष प्रकृतिप्रेमीलाई निम्त्याउँछ । यहाँका गुराँसे जङ्गलहरुले वसन्तपुर, मिल्केडाँडा, घोडेपानी आदिका सुन्दरतालाई पनि विर्साउँछन् । आफ्नै काखका सौन्दर्य र सिर्जनाहरु हुन् यी ।
साप्सुखोला, रावाखोला, टुवाखोला, सावाखोला किनारका बेँसी धाप र तिनै फाँटमा धानबाली लहराएका हुन्छन् । हौचुरको पोखरीस्थित गुरुङगाउँको फाँटले पनि मन नलोभ्याइ छाड्दैन । मात्तिमको पहेँलपुर गह्रा, छोरम्बु, सापातेलको खेतीले आँखामा स्पर्श गरिरहन्छ । खार्पाको रावा बेँसीका खेती भूमि आँखाले भ्याइञ्जेलको कृषि उब्जनीको भण्डार हो ।
मझुवाको बेँसी भञ्ज्याङको लहलह बाली । यहाँ यस्ता धेरै छन् अन्नबालीका टारीफाँटहरु । त्यस्तै साल्पाको गाउँघरका आत्मीय ग्रामीण परिचय पनि स्मरणीय बन्छन् । दूधकोशी किनारस्थित रम्भुवा बजारको रमाइलो पनि प्रत्येक पुस्ताका लागि एक सम्झिरहने थलो हो । दुर्छिम गणेशटारको गाउँ कम रमाइलो देखिँदैन । लस्करै घर, मकैका थाङ्ग्रा, केराका घारी ।
मौसमअनुसार मकै बारी, कोदोबारीका टार । बारीका डिलमा फुलेका सयपत्रीका फूलहरु । ऐँसेलुखर्कस्थित दाम्ली गाउँको रमणीयता पनि प्राकृतिक छटाको अर्को पाटो हो । बाहुनी डाँडाबाट हेर्दा देखिने पहाडका सुन्दरता र बादलको लुकामारी । हुस्सुका हुलले क्रमशः चुमिरहन्छ मन ।
हुमपोखरी डाँडाका पाटोमा पनि यसरी नै हुस्सुले छोपेर हैरान पार्छ । मौसम खुलेपछिको दृश्य फेरि अर्को प्रकृति रमणको आयाम हो । हिमालदेखि मधेशसम्म देख्न पाइन्छ यहाँबाट । सुन्दरताको अर्को शुरुआत हो यो । तल बेंसीको पहाडसँग लुक्दै, मस्किँदै बगेको दूधकोशी, सुनकोशीको दृश्य अर्को उपहार हो । च्यानडाँडाको पाटनबाट हेर्न सकिने मनोरम दृश्यले अर्कै लोकको अनुभूति गराउँछ । चरनका हरिया चौर । बाटोका लमतन्ने दृश्य । बोट विरुवाका झुरुप्प बान्की । भेँडा, बाख्राका पाठापाठीहरु नाच्दै, उफ्रिँदै रमाउने । चरनमा चरिरहेका र उघ्राइरहेका वस्तुभाउ । गोठाला ज्यानको लोकभाका । चराचुरुङ्गीका चिरविर । अनेकन फूल, वनस्पतिका सुगन्ध ।
स्थानीय लोक जीवनका मौलिक धड्कन हुन् । प्राकृतिक सम्पदाहरु हुन् । हौचुरको सोरठी, खाल्डेको सङ्गिनी, नेर्पाको साकेला र माक्पाको मारुनी नाचले यहाँको सांस्कृतिक गौरवलाई अक्षुण्ण राखेको छ ।
हुन त, यस्ता नाचगानको संस्कृति अन्य स्थानहरुमा पनि मेलापर्वमा देख्न पाइन्छ । त्यस्तै नाच्दै बगिरहेको बाकाचोल र राखाबाङ्देल गाउँ बीचको लिदिङ खोला । यसले स्थानीयलाई सिँचाइ सुविधा पु¥याउँदै आइरहेको छ । घोर्ले, वाजिपाला, छोरम्बु आदिमा फल्ने सुन्तलाको स्वाद अन्त कहाँ पाइएला र ? चिसो लेकाली सुन्तलाको स्वादै मीठो । यसबाहेक कटुस, ओखर, काफल, ऐँसेलुले पनि मन लोभ्याइहाल्छ । खाँदै, खेल्दै उकालो–ओरालो गर्नुको दैनिकी ग्रामीण जीवनको नियति पनि हो ।
यहाँनिर डा. धनप्रसाद सुवेदीले लेखेका यी जानकारी टपक्क टिप्न मन लाग्यो । जस्तो– खार्मीको आलु र मकै, पाथेकाको दही र मही, जालपाको भटमास, नूनथलाको चिया, बाम्राङको कटहर, दोर्पाको सागसब्जी, तर्कारी, लामाखुको दूध र मह, खाल्लेको चामल, विजयखर्क बसेरीको टमाटरको चटनी, लफ्याङ मझुवाको भोर्ला र सालको पातको टपरी । बुइपाका भाँडाकुँडा, नेर्पाको राडी, प्रत्येक गाउँका गुन्द्रुक, सिन्की, किनेमा आदि ।
चिराइतो, पाखनवेद, गुजुरगाना, हलेदो, आकाशबेली आदि जडिबुटीको भारी बोकेर मधेश झर्ने बलिया ज्यान छन् । नून, मट्टितेल, खानेपानीका पाइप, जस्तापाताको ग¥हौँ बोझ बोकेर उकालो चढ्नेहरु तिनै हुन् । पहाडका भरपर्दा वाहन यी । यिनैले धानेका छन् मालसामानको व्यापार ।
बूढा रुखहरु पनि कम्मर मर्काएर उभिएका । अनौठो नृत्यमुद्रामा हाँगा बेरिएका, बटारिएका, लठारिएका । घुमेका जरासँग हावामा हल्लिरहेका । झ्याऊलेऊहरुले रुख ढाकिएका । तिनैमा सुनाखरी मौलाएर फूलैफूलले सजाएका बयोवृद्ध बोटलाई । हरिया पात विना पनि सुकेका रुखको सुन्दरता बेग्लै । पहाडी जीवन ज्यादै ज्याद्रो हुन्छ । कति ठाउँ बाटो न घाटो ढुङ्गाका धराप टेकेर फड्को मार्न सक्छन् । पहाडको कठिन बाटो सजिलै हिँड्छन् । त्यसमाथि भारीको बोझझले ज्यानै थिचिएर पनि सहजै हिँड्न सक्छन् । वास्तवमा पहाडी जीवनको यात्रा त्यति सुखद हुँदैन । तर त्यहीँ हुन्छ आत्मीयता, मानवता र मित्रमिजासको हार्दिकता ।
दिक्तेलको मुडेडाँडामा गीत गाएका, मित लाएका कति प्रिय पलहरु । रक्सीले झुम्म भएर झुमेका ती दिनहरु । प्रेले भरिएका मनहरु । पीडाले रित्तिएका हृदयहरु । उकालो हिँड्दा–हिँड्दै थाकेको ज्यान । पसिनाले भिजेको शरीरलाई कहाँ घुम, कहाँ छाता, बर्षादी, कहाँ सिँयाल ? मरितरी शरीरलाई विसाउन बिसौनी चाहिन्छ । विश्राम नगरे गन्तव्य पुग्न हम्मे पर्छ । अनि यसबेला रुखो पहाडमा पनि झ्याम्म फैलिएका बरपिपल । थकाइ विसाउने चौताराको सम्झना–सन्दर्भ स्वतः आइहाल्छ ।
अहिले यस्ता चौतारा र बिसौनी मासिइसके । वरपिपल रोप्ने चलन हराइसके । बरु त्यहाँ भट्टी खुलेका छन् । चाउचाउ, चुरोट, खैनीका पसल थापिएका छन् । थाहा छैन समयले फेरेको चिनारी हो कि ? मानिसले रुचाएका पसलका फसल हुन् !
मेरो प्यारो प्राकृतिक छटा छिया–छिया भएर छिन्न–भिन्न भएको देख्दा मन धुरुधुरु रुन्छ ।
ज्ञानेन्द्र विवश
खोटाङ, चिसापानी
हालः महालक्ष्मी नगरपालिका– ५, टिकाथली, ललितपुर ।