‘दान गर्नू बिर्सिदिनू तर यात्रा गर्नू सम्झिरहनू !’ भनेजस्तो कहाँ हुन्छ र, बिर्सने कुराहरु बेलाबेलामा आइदिन्छन्, सम्झने क्षणहरु स्मृतिबाट बिलाइहाल्छन्। यात्राका समयमा देखेका मन छुने विषयवस्तुलाई टिपोट गर्ने बानी मलाई धेरै राम्रो लाग्छ ।
बुँदामा उल्लेख गरिएको तिनै टिपोटले एउटा सुन्दर लेख तयार हुन्छ । त्यसरी नै विभिन्न ठाउँमा यात्रा गर्दै तयार पारिएको यात्रा संस्मरणले त्यो ठाउँको परिचय बोकेको हुन्छ । किताब पढिसकेपछि त्यसभित्रको गुलियो रस निकाल्न मलाई असाध्यै मनपर्छ।
कुनै किताब यति नशालु हुन्छन्, त्यस्ता किताबको अध्ययन पश्चात धेरै दिनसम्म नशाजन्य पदार्थको सेवन गरेझैँ लठ्ठ हुन्छु म। शङ्कर लामिछाने र विश्वेश्वरप्रसादका कृति पढ्दा मलाई सधैं यस्तै महसुस हुन्छ। यो समयमा म नियात्रासङ्ग्रह ‘प्रणय र पाइला’ पुस्तकको चर्चामा निमग्न भएर लागेकी छु।
आफ्ना नियात्रा र निबन्धमा कला मिसाएर नयाँ स्वादको रचना तयार पार्ने चर्चित लेखक ज्ञानेन्द्र विवश पछिल्लो समयमा लगातार नियात्रा र निबन्धमा कलम चलाइरहेका छन्। सुदूर पूर्व खोटाङका यी यात्रा लेखकको निबन्ध, नियात्रा र कलासम्बन्धी एक दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन्।
एक थुँगो फूलको वर्णन गर्नुपर्दा एउटा विशाल फूलैफूलको नर्सरी तयार पार्न सक्ने शब्द भण्डारको क्षमता भएका यी लेखकको मैले धेरै किताब पढिसकेकी छु। यिनको नयाँ पुस्तक ‘सुन्दरीचोक’ ले पनि मेरो मन नलोभ्याएको त कहाँ हो र? तर आज ‘प्रणय र पाइला’ नियात्रा पुस्तकमा लेख्ने रहर जागेर आयो।
यात्रा गर्दा नयाँ ठाउँको जीवनशैली, संस्कार, संस्कृति र प्राकृतिक पर्यावरणलाई आँखाले आत्तिन्छन्, छट्पटी हुन्छ उनलाई। ‘मनकामना, मस्र्याङ्दी र मन’ पढेपछि मेरो मन भत्कियो। धेरै कष्टकर छ नेपालका ग्रामीण भेगमा बसोबास गर्ने नेपालीको जीवन। शहरमा बस्ने मान्छेले त कल्पनै गर्न सक्दैनन्। खाली खुट्टा र पिठ्युूँमा भारी बोकेर पखेरा चढ्ने साहसीहरुसँग दुःखको पहाड पनि सँगै उक्लन्छ । उनीहरुले चाहेको सुख एकछिनको हेराइमा देखिने सौन्दर्य होइन। आफ्नै कमाइले आराम पूर्वक राम्ररी खान लाउन पाउनु नै सुखमय जीवनको प्राप्ति हो उनीहरुलाई!

चुच्चेमारामा चिप्लेटी
नियात्राले पाठकको मन अत्याउँछ। मुगु र जुम्लाको सिमाना–साँधका रुपमा रहेको चुच्चेमारा मौसम अनुसार आफ्नो रुप बद्लेर अदभूत चमत्कार देखाउँछ। त्यहाँ बर्खामा मान्छे आवतजावत गर्छन्, सारा हरियाली देखिन्छ रुपसँगै उसको नाम चुच्चेमारा लेकको नामले चिनिन्छ, त्यहाँका बासिन्दा अनेकौं किसिमका जङ्गली वनस्पति जडिबुटी खोजेर बिक्री गरेको पैसाले जीवन निर्वाह गर्छन् तर हिउँद लागेपछि चुच्चेमाराले आफूलाई लेकबाट हिउँ पहाड बनाउँछ।
त्यहाँ कुनै वनस्पति रहन्नन्। कोही चढ्न नसक्ने चुच्चेमारा आफूलाई हिउँको बर्को ओडाएर एक्लै बसिरहन्छ एउटा सिङ्गो ऋतु बोकेर। हिउँले पुरिएको चुच्चेमारा नव दुलही झैं मुस्कुराउँदै पर्यटकहरूलाई आफ्नो समिपमा बोलाउँछ, ‘आऊ मेरो सौन्दर्यको रसस्वादन गर...मलाई स्पर्श गर।’ साँच्चै प्रकृतिले समानता र सङ्घर्ष सिकाउँछ।
राप्तीतटमा जीवनको व्याकरणः
राजा महेन्द्रले नारायणी नदीमा डुङ्गामाथि बसेर कवि सम्मेलन आयोजना गरेका रोचक प्रसङ्गदेखि राणा कालमा उच्च पदस्थ श्री ३ परिवार र विदेशी पाहुनाको काठमाडौं बाहिर घुम्न जाने ठाउँमा पहिलो गन्तव्य स्थल नै चितवन भएको कुरा इतिहासमा पढ्न पाइन्छ। अनेकौं किम्बदन्ती बोकेर बाँचेको त्यो चितवन राष्ट्रिय निकुञ्जले आदिबासीलाई के कति सम्बोधन गर्यो त्यो कुरा हामी सबैलाई जग जाहेरै छ। स्पर्श गरी आँेठले चुमेर हृृदयमा सँगाल्नु र त्यसलाई कृतिको रुपमा तयार पारेर पाठकसामु ल्याउनु कत्रो आनन्दको कुरा हो । त्यसैकारण साहित्य समाजको प्रतिबिम्ब हो भनिन्छ । यो सङ्ग्रहमा दुई दर्जन लेख समावेश गरिएका छन्।
यिनमा प्रायः नेपालकै अधिकांश ग्रामीण भेगको कथाव्यथा दर्शाइएको छ। जुन नियात्राहरुले वास्तविक नेपालको चिनारी पनि दिन्छन्। दुर्गमका सुन्दरता र दुःखका पक्षहरुका पाटोलाई दुरुस्त रुपमा उतार्ने कोसिस यस नियात्राले गरेको भन्ने मलाई लाग्छ । त्यस्तै केही नियात्रा छिमेकी भारतमा घुमेका स्मरणीय पलहरु पनि यो सङ्ग्रहमा अटाएका छन्। लेखकले यात्रा गरेका ठाउँको प्राकृतिक, भौगोलिक, ऐतिहासिक, सास्कृतिक पक्षको विस्तृत अध्ययन अवलोकन गरेर लेखिएका कतिपय नियात्रा सुन्दर नारीको सौन्दर्यमा डुबेर लेखिएका रहस्यमय कविता झैँ लाग्छन्।
साँच्चै भन्नुपर्दा, प्रकृति र नारी उस्तै सुन्दर हुन्छन्। राराकी अप्सरा, मृत्युउत्सव, सुन्दरीचोक, अन्नपूर्णाका विम्बहरु अनि प्रणय र पाइला। निबन्ध र नियात्राका यी पुस्तक पढेपछि मलाई यिनी नारीवादको पक्षमा उभिएका झैँ लाग्यो। ‘प्रणय र पाइला’ पुस्तकमा रहेको मलाई मन परेको एउटा नियात्रा ‘गाउँ जाँदा जे देखियो’ भित्रबाट सानो अनुच्छेद ‘रमणीय सौन्दर्यको त्यस पाटोमा मन लठ्ठिएर भुनभुनाउन थाल्छ सुस्तरी ! भावुक भावना बयली खेल्छ। चञ्चल स्वभाव चुपचाप हुन्छ। चङ्गा झैं मन प्रकृतिको विस्तीर्णम् आवरण माथि घुम्न, डुल्न थाल्छ मस्तले। आँखाभरि हरियो रङ नाच्छ धरतीको सुगन्धसहित । अन्ततः पहाडी तरेलीका बिस्कुनमा मन रमाउन थाल्छ।
प्रेमको पाटोलाई आँखाको स्पर्श र अनुभूतिले भेटिने रहेछ ।” हो नि, आफ्नो जन्मस्थान पुगेपछि सबैको मन यसरी नै पुलङ्कित हुन्छ । दैनिक जीवनका अनवरत दैनिकीहरुलाई एक–दुई दिन थाँती राखेर यात्रामा निक्लिएका लेखक मानवका पीडादायक यथार्थ देखेर प्राकृतिक सौन्दर्य, दुर्लभ वनस्पति र वन्यजन्तु एकै स्थानमा रहेको सुन्दर चितवनमा नदी र निकुञ्जमा आश्रित आदिबासीको पीडा, नारायणी र राप्ती नदीमा माछा मार्ने, निकुञ्जमा सिकार गर्ने र कन्दमूल खोजी जीवन गुजारा गर्ने आदिबासीको आवाज जस्ता दुःखद पक्षको आवाज उठान गरेको यो नियात्राले राप्ती तटमा जीवनको व्याकरण खोजिरहेछ ।
नेपालभित्रको अर्को नेपाल–
अधिराज्यकै विकट र अति दुर्गम क्षेत्र करानभेगको खास ठाउँ नै मुगु कार्ती, किम्री र डोल्फु हुन्। यहाँका वासिन्दा सुर्खेतबाट खाद्यान्न बेसाएर खाने रहेछन्। छायाँनाथ हिमालको छेउमा ढुङ्गैढुङ्गाको डरलाग्दो भिरको बाटो छिचोल्दै १२,००० फिट उचाइमा रहेको डोल्फु गाउँको हृदयविदारक कथा पढेर म तर्छिएँ। मासु खाएर हाडखोड छोडेझैँ चुच्चाचुच्ची ढुङ्गाका थुप्रै थुप्रो, कसरी हिँड्छन् मान्छे ? प्रश्नैप्रश्नको ओइरो लाग्छ मनमा । मान्छे जस्तोमा पनि बाँच्न सक्ने एउटा लाचार प्राणी।
दुःखको दुखाइले सीमा नाघिसक्दा पनि सुखको खोजीमा बगिरहन्छ मान्छे। त्यही दुःखले बनेका अक्करे पहाडसँग हातेमालो गर्छ मान्छे । त्यस्तै प्रणय छ अनि त्यसैमा पाइला – पदचाप जीवनको दुःखद यात्रा हिँडिरहेको छ। तिनै डोल्फुबासीलाई थाहा होला दुःखको कथाव्यथा कति मर्मघाती हुन्छ भन्ने कुरा ! संसारले सञ्चार प्रविधिमार्फत् फड्को मारेर कहाँ पुगिसक्यो तर यी दुःखीहरुको जीवनशैली आदिम कालकै अन्धकारमा छामछुम गरिरहेझैँ लाग्छ ।शहरको सुखसयलमा बस्नेलाई यी र यस्ता दुर्गम गाउँका कथाहरू एकादेशका लाग्न सक्छन् तर यो डोल्फु हाम्रै देशभित्रको एउटा अन्धकार गाउँ हो । त्यसो भए यो मात्र एउटा दुखको कथा बोकेको गाउँ हो त भन्ने प्रश्न उठ्ला।
यस्ता विकट गाउँ धेरै छन्, विकास र समृद्धिका आँखाहरू पुग्नका लागि । हाम्रा नेताले आ–आफ्नो क्षेत्रमा बसेर विकास गरेको, बाटोघाटो, स्वास्थ्य र शिक्षा पुगेको हाम्रै पालोमा देख्न र सुन्न पाउने आशा गर्न बाहेक अरु के नै रह्यो र ? नपुगेको र नदेखेको ठाउँ हेर्ने रहरले उनलाई छिमेकी मुलुक भारतका विभिन्न ठाउँहरुमा तानेर लैजान्छ। उनले लेखेको सिक्किमको वर्णन पढ्दै गर्दा मैंले हाम्रो पूर्वको पहाड राँकेलाई सम्झिएँ। ‘यतिबेला आकाशलाई पूरै कुहिरोले ढाकेको छ र जङ्गलभित्र हुस्सु पसेर आँखाको दृश्यमा संसारभरि घनघोर जङ्गलबाहेक अरु केही देखिँदैन ।’ साँच्चै ठ्याक्कै यस्तै थियो मैले स्पर्श गरेको राँके।
दार्जीलिङबाट नजिकैको कालिम्पोङको रुपले मन बरालियो भन्छन् लेखक। ‘कालिम्पोङ सौन्दर्य कलाको भण्डार हो, बैँस चुहेको मुस्कान छ त्यहाँ, बैँस लजाएको अनुभूत हुन्छ त्यहाँ । साँच्चै बैँसको रङ्ग स्वयंमा मादक र मायालु हुन्छ। बैँसको आकर्षण पत्यारिलो र प्रीतिकर हुन्छ । त्यसैले मान्छे यात्रा गर्छन्, सास्ती सजाएँ भोग्दै। आकर्षित हुन्छन् र ओइरिन्छन्।
प्रकृतिको मादकतामा डुब्छन्, हराउँछन्, अनि फर्किन्छन् आँखाको भोक तृप्त गरेर, आँखाको प्यास बुझाएर ।’ सायद प्रकृतिको अनुपम सौन्दर्यको रहस्यकै कारण मान्छे उत्सुकतापूर्वक यसको पछाडि दौडन्छन् । त्यसो त, आनन्दमय अनुभूतिको अभावमा मान्छे उदास हुन्छ । भनिन्छ, जीवनको प्रमुख रहस्य नै आनन्दको आशा र त्यसको प्राप्तिको प्रतीक्षा हो । जीवनलाई पूर्णता र अर्थ दिनका लागि पनि बाह्य प्रकृति एवं जीवनशैलीसँग साक्षात्कार गर्न यात्रा आफैंमा आवश्यक हुने गर्छ।
यस किसिमको यात्राबाट आध्यात्मिक आनन्द र जीवनको सर्वाधिक खुसीको अनुभूति प्राप्त हुन्छ। हिजोआज नेपालमा शरणार्थी काण्ड चरमोत्कर्षमा छ। बीसौँ वर्ष अगाडिदेखि भूटानी शरणार्थी आश्रयको खोजीमा नेपाल आएको कुरा त सर्वविदितै छ। शरणार्थीको नाममा नक्कली शरणार्थी बनाउने गिरोहको अझै खोजी कार्य जारी नै रहेको भन्दै गर्दा हामी नेपालीको महानताको हिसाबकिताब बाहिरी देशदुनियाँले गरेकै होलान्।
भैगो यस्ता कुरा नगरौं । ‘प्रणय र पाइला’ पुस्तकमा रहेको एउटा नियात्रा ‘शरणार्थीको महत्वाकाङ्क्षा’ भन्ने पनि रहेछ । त्यो पढेपछि हालको अवस्था थोरै लेखिहालेँ। कसैलाई चोट परेमा क्षमा चाहन्छु लेखकले धेरै पहिले देखेको शरणार्थी शिविर आज बदलिएको छ । समग्रमा यो किताब राम्रो छ। धेरै पिछडिएका गाउँको, त्यहाँका बासिन्दाको आवाज बुलन्द गरेका छन् लेखकले यो पुस्तकमार्फत्। सिङ्गो ब्रह्माण्ड नै परिवर्तनशील छ, आज देखेको कुरा भोलि नरहन सक्छ। नयाँ पुस्ताले यस्ता कृतिको अध्ययनबाट धेरै कुरा थाहा पाउनेछन्, हामीले ‘जङ्गबहादुरको बेलाइत यात्रा’ पढेर थाहा पाएझैं।
लेखक : शशी भट्टराई श्रेष्ठ
मीनभवन, काठमाडौं।