काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आइतबार भएको ४ घण्टा लामो छलफल एकदम सौहार्दपूर्ण र परिणाममुखी भएको बताएका छन्।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभिन्न परिस्थिति र भोलिको बाटोकाबारे छलफल भएको बताए।
उनले भने, ‘हामीले सम्पूर्ण विषयमा कुराकानी गर्यौँ। विशेष गरेर सुकुम्वासी समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्यो। आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गर्यौँ।’
उनले अन्य उठेका सबै विषयमा गम्भीर रूपमा छलफल गरेको बताए। उनले थपे, ‘राष्ट्रिय राजनीति, विभिन्न परिस्थिति, भोलिको बाटोका विषयमा दुइटा शीर्ष नेता बीच राजनीतिक छलफल छ, यो राजनीतिक छलफल त्यही ढङ्गले अगाडि बढेको हो। एकदम सौहार्दपूर्ण, राम्रो र परिणाममुखी छलफल गर्यौँ।’