काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार ३०) बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई गोली हान्ने धम्की आएको जानकारी गराएका हुन् ।
उनले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निसाना बनाइएको बताए । आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत उनले सदनमा सार्वजनिक गरेका छन् ।
पराजुली राम नामक फेसबुक आईडीबाट आफूलाई गोली हान्ने धम्की दिइएको उनले सुनाए ।
“हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ । सरकारलाई सही बाटो देखाउन खोज्दा मलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको छ,” उनले भने ।
पूर्णविक्रम क्षेत्री नामक अर्का व्यक्तिबाट पनि आफूलाई भौतिक आक्रमणको धम्की आएको उनले उल्लेख गरे ।
यसरी सार्वजनिक रूपमै ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै उनले यसबारे सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले आफूहरू निरपेक्ष रूपमा सरकारको विरोधमा नरहेको तर जनसरोकारका विषयमा बोल्दा यस्ता धम्कीको सामना गर्नु परिरहेको गुनासो गरे । न्युज एजेन्सी नेपाल