काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको विषयमा सामाजिक सञ्जालमा विवादको आँधि चलिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भने अस्वभाविक मौनता देखिएको छ । आज बसेको केन्द्रीय समिति बैठक उनको नामसमेत कसैले उच्चारण गरेन ।
सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका व्यवसायी दिपक भट्टको गृहमन्त्री गुरुङ साझेदार रहेको पोल खुलेपछि विवाद उब्जिएको हो । तर, सरकारले कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन भने पार्टीको तर्फबाट पनि आधिकारिक वक्तव्य आएको छैन ।
गुरुङले आज सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिरक्षा गर्न खोजेका छन् । सेयर किन्दैमा साझेदार नभइने उनको तर्क छ ।
सामाजिक सञ्जालमा विवाद भइसकेपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । दुवैले यो सामान्य विषय भएकाले राजीनामा गर्नु नपर्ने सुझाव दिएको स्रोतको दावी छ । सचिवालय स्रोतले भन्यो, ‘सेयर किन्दैमा दोषि भइँदैन, यो राजीनामा दिनुपर्ने इस्यू होइन भन्ने कुरा उहाँहरुले गर्नुभयो ।
सामाजिक सञ्जालमै आफ्नो भनाइ राख्न सुझाव दिनुभयो । त्यहीअनुसार गृहमन्त्रीज्यूको प्रष्टीकरण आएको हो ।’ स्रोतका अनुसार सभापति लामिछानेले आफूले पनि यस्तो अनेकन विवादहरु झेलेर आएको भन्दै नआत्तिन भनेका थिए । गृहमन्त्रीले आफ्नो स्पष्टीकरणमा पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्णरूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।’ आफ्नो स्पष्टीकरणसँगै यो विवाद सामसुम हुने र राजीनामाको माग पनि मत्थर हुने विश्वास गृहमन्त्रीको छ । उनले आफ्ना निकटस्थहरुसँग राजीनामा दिनुपर्ने परिस्थिति नरहेको बताएका छन् ।
यद्यपि, सामाजिक सञ्जाल सेलाइसकेको छैन । प्रश्न उठ्नासाथ मन्त्रीलाई बर्खास्त गरिएको यसअघिको नजिरले गर्दा पनि सरकारमाथि दवाव बढेको हो । श्रममन्त्री दिपक साहलाई श्रीमतीको जागीर थमौति गराएको आरोप लागेपछि स्पष्टीकरणको मौकासमेत नदिइकन प्रधानमन्त्रीले पदबाट हटाएका थिए ।
गृहमन्त्रीको हकमा भने उनले त्यस्तो कुनै संकेत गरेका छैनन् । यता सत्तारुढ दल रास्वपाभित्र भने तैँ चुप मैँ चुपको अवस्था छ ।
आज बसेको केन्द्रीय समितिको वैठकमा यो विषयमाथि छलफल हुने आशा राखिएको थियो । तर, गृहमन्त्रीको नामै उच्चारण नभएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यले भने, ‘यो विषयलाई छलफलमा ल्याउने चेष्टा सभापतिज्यूको नदेखिएपछि कसैले पनि बोल्न सकेनन् ।’ - नेपालप्रेस