कांग्रेस सभापति गगन थापाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेका छन् ।
महामन्त्री प्रदीप पौडेलका अनुसार साँझ खड्कालाई भेटेर पार्टी एकता कायम गर्ने विषयमा संवाद भएको बताए ।
खड्काले आजै आफ्नो समूहका तत्कालीन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकमा एकताको कुनै पहल नभएको जानकारी गराएका थिए ।
'पार्टी एकताका लागि आइतबारदेखि नै सभापतिले पहलकदमी सुरु गर्नुभएको छ ।
हामी सबै खालका विवादहरु अन्त्य गरेर पार्टीलाई एकता कायम गर्न गम्भीर छौं,’ पौडेलले भने, 'तत्कालीन कार्यवाहक सभापतिज्यूसँगको छलफलले सकारात्मक बाटो लिन्छ भन्ने आशा छ ।’
पौडेलले केन्द्रीय अनुशासन समितिले खड्कामाथि गत बुधबार सोधेको स्पष्टीकरणको औचित्वसमेत समाप्त भएको बताए ।