जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल राई चयन भएका छन्। फागुन ३ गते पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनर्गठनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राई अध्यक्षमा चयन भएका हुन् ।
राईको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति पुनर्गठन गरिएको फागुन ३ गते साँझ दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ। जसपा नेपालको उपाध्यक्षमा हौचुरका गणेश खड्का र सोल्माका धनिराम नछुङ, सचिवमा वुईपाका हंशराज राई तथा कोषाध्यक्षमा बतासेका शान्तीकला राई चयन भएका छन् ।
पार्टी पुनर्गठन कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य डा।केके राई, केन्द्रीय सदस्य प्रेम राई, प्रदेश १ अध्यक्ष दीपक याक्खा, किरात राष्ट्रिय समिति अध्यक्ष धनकुमार राई लगायतका नेताहरुको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रेम राईले जसपा भन्ने पार्टी नै नरहेको ऐन, सरकार र निर्वाचन आयोगको बल मिच्याईले टिकीरहेको बताए।
सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश जनता र राष्ट्रको हितविपरीत भएकाले सरकारले उक्त अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालका सहअध्यक्ष चेमजोङले बताउनुभयो ।
जसपा नेपालले हेलिप्याडमाथि १० वर्षलाई भाडाको जग्गामा पार्टी कार्यालय निर्माण गरेर सञ्चालन गरेको भए पनि सम्झौता अवधि सकिएकाले अब दिक्तेलबजारमा चाँडै पार्टी कार्यालय स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।