काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले अध्यादेश खराब नियतले नल्याएको टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशका अन्तरवस्तुबारे दुई नेताले सांसदहरूलाई जानकारी गराएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २९ पुसमा चारवटा अध्यादेश जारी गरेका थिए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश जारी भएको थियो ।
संसद् सुरु हुनु अघि सुरु भएको संसदीय दलको बैठक बिहीबार सकिएको छ । अन्तिम दिन अध्यादेशका अन्तरवस्तुबारे जानकारी गराउने क्रममा दुई महामन्त्री थापा र शर्मा मूलतः सुशासन प्रर्वद्धनमा अध्यादेश मार्फत गरिएको सुधारबारे जानकारी गराएका थिए ।
महामन्त्री थापाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सक्रियता बढाउन आग्रह गरेका छन् । संसद् र संसदीय समितिमा भूमिका बढाउन थापाले आग्रह गरेका हुन् । जारी संसद्मा विधेयकहरू पारित गर्नका लागि चाप भएको उल्लेख गर्दै महामन्त्री थापाले मन्त्रीहरूलाई काम गर्ने तरिका परिवर्तन गर्न सुझाव दिए ।
‘विधेयक छिटो पारित गर्न मन्त्री नै लाग्नुपर्दछ । मन्त्रीहरूको काम हो त्यो । संसद्को होइन,’ थापाले भने, ‘संसद्मा बसिदिनुस् । मन्त्री दौडिन्छ । कति कुद्छ त्यसमा विधेयक छिटो पारित गर्न मद्धत पुर्याउँछ ।’ महामन्त्री थापाले विधेयक पारित गराउनुपर्ने भएकाले २/३ महिना कामको चाप बढ्नेतर्फ मन्त्रीहरूलाई सचेत बनाए ।
विवादित वा स्पष्ट पार्नुपर्ने विषयमा मन्त्री स्वयं सक्रिय भएर संसद्मा समय लिएर बोल्नुपर्ने सुझाव थापाले दिए । संसद्मा मन्त्री बोलिसकेपछि पार्टीका नेताहरूले त्यसैको आधारमा बाहिर विचार राख्ने धरातल निर्माण हुने उनले बताए । उनले भने, ‘कतिपय कुरामा पहिले विरोध त्यसपछि सभामुखले रुलिङ गर्ने त्यसपछि आएर मन्त्रीले बोल्ने होइन कि मन्त्री स्वयंले समय लिएर विषयवस्तु राखिदिने हो । कति फ्लोरहरू यसरी प्रयोग गर्नुपर्दछ ।’