नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि जस्तो कतिखेर सरकार ढल्छ भन्ने चिन्ता नलिन आग्रह गरेका छन्।
कांग्रेसका ७७ जिल्लाका सभापति, उपसभापति एवं प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई मंगलबार पोखरामा सम्बोधन गर्दै देउवाले अहिले मात्रै होइन, कांग्रेस–एमाले मिल्दा धेरै वर्षसम्म राजनीतिक स्थिरता हुने बताएका हुन्।
‘अहिले मात्रै होइन। एमाले र कांग्रेसबीच सहमति भयो भने धेरै वर्षसम्म राजनीतिक स्थिरता स्थापित हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढुक्क भएर काम गर्ने आशयमा देउवाले भने, ‘सरकार कतिबेला ढल्ने हो। कति दिन चल्ने हो भन्ने पनि थाहा नहुने अस्थिरतामा हो। दुई वटा पार्टी मिलेर सरकार बनेकोले यसको स्थायित्व स्पष्ट ।’
ओली आफूसँग जेल बसेको साथी भन्दै देउवाले अविश्वास गर्नुपर्ने कारण नरहेको पनि प्रस्ट्याए।
‘ओली र म सँगै जेलमा बसेको साथी हौं । धेरै दुःख, कष्ट थियो । छुट्ने सम्भावना हुँदैनथ्यो ।
झापा काण्डको कारण देखाएर उहाँलाई जेलभित्रको पनि जेलमा राखियो’, देउवाले भने, ‘कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल हुन् ।
तर, पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’