विराटनगर – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन्।
भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए।
त्यसको जवाफ दिँदै नेपालले योगेशको नाम नलिई आफूहरूले अध्यादेशको विरोध गर्दा उनैलाई बढी पोलेको दाबी गरे। ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए। उनलाई सबभन्दा बढ्ता पोलेछ। बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भने।
उनले आफ्नो पार्टी बनाउने बेलामा अध्यादेश आउनु आवश्यकता भएको तर, अहिले संसद् चल्ने बेलामा अध्यादेश आउन आवश्यक नभएको तर्क गरे। संसदमा विचारधिन रहेका विधेयकहरू फिर्ता नै नगरी विधि प्रक्रिया नपुराई अध्यादेश ल्याउने कुरा ठिक नभएको उनको भनाइ थियो।
नेपालले विपक्षीहरू सरकार ढाल्न नलागेको पनि बताए। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बरु प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सरकार ढल्यो ढल्यो भन्दै गीत गाउन थालेको दाबी गरे। प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै नेपालले प्रतिपक्षले नभई प्रधानमन्त्रीले नै सरकार ढल्यो ढल्यो भन्दै गीत गाएको बताए।
उनले सरकारकै कारण सबै तिर निराशा छाएको आरोप लगाए। संविधान संशोधन जस्तो विषय अपरिपक्व ढंगले प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले सरकार बन्दाको नियत के भएको भन्ने समेत स्पष्ट भएको उनले बताए। ‘यो सरकारबाट निराशा छ। पहिला पनि धेरै आशा थिएन । त्यही पनि शङ्काको लाभ भने जनतामा थियो । त्यो अहिले पूर्ण रूपमा निराशामा परिणत भएको छ,’ उनले भने।
सरकारको रवैया अत्यन्तै अलोकतान्त्रिक भएको समेत उनले बताए। सरकार गठन गर्दा नै रहस्यमय तरिकाले गरिएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन गर्ने भनेर दिएको वक्तव्यले सरकारको नियत उदाङ्गिएको उनको भनाइ थियो।