नेकपा (एकीकृत समाजवादी)ले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशन (अपानि) बाटै जिम्मेवारीमुक्त गरेपछि उक्त पार्टीमा ओली प्रवृत्तिको चर्चा हुन थालेको छ।
अध्यक्ष माधवकुमार नेपालले माघ १४ गते जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत एकीकृत समाजवादीको युवा संघ नेपाल र अनेरास्ववियूका केन्द्रीय अध्यक्षलाई जिम्मेवारीमुक्त गरेका थिए।
जिम्मेवारी खोसेका युवासंघका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पार्टीको निर्णयले सङ्गठनको जिम्मेवारी हेरफेर गर्न सकिने भए पनि पूर्वाग्रहपूर्ण ढङ्गले आफूहरूको जिम्मेवारी खोसिएको बताए। उनले अब आफूहरूसँग असहमति लेख्नुबाहेक अरू विकल्प नभएको पनि बताए।
‘पार्टीले संगठनको जिम्मेवारी हेरफेर गर्नसक्छ । तर यति धेरै पूर्वाग्रह किन राखियो भन्ने मेरो प्रश्न हो’, उनले भने, ‘अरू सङ्गठनले भेला गरेर छोड्न पाउने हाम्रा हकमा मात्र नपाउने भन्ने हुँदैन।’
‘असहमति लेखेर दिन्छु । त्यो असहमति केन्द्रीय कमिटी बैठकमा छलफलको विषय बन्न सक्छ’, विश्वकर्माको भनाइ छ।
अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा अन्य भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार प्रत्यायोजन गरिएपनि पार्टी निकट अनेरास्वियुका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष विश्वकर्मालाई अपानिमार्फत जिम्मेवारी मुक्त गरेको उल्लेख छ।
पूर्वाग्रह त देखियो नै यो भन्दा पनि केपी ओली प्रवृत्ति माधवकुमार नेपालमा पनि देखियो। यो पार्टीका लागि हानिकारक हुनसक्छ’, पार्टीका एक नेता भन्छन्, ‘अरूलाई अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न भनिएकोमा दुई जनाको हकमा मात्र सङ्गठनको नेतृत्वबाट मुक्त गर्नु तर्कसङ्गत भएन।’
लामा र विश्वकर्मा नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकटस्थ मानिन्छन् । असारमा भएको पार्टीको दसौँ महाधिवेशनमा खनालले अध्यक्षको प्रतिस्पर्धा नगरेपछि विश्वकर्मा र लामा दुवै महासचिव भुसालको पक्षमा खुलेका थिए ।