काठमाडौँ - नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन्।
आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको संक्षिप्त जानकारी सार्वजनिक गर्दै रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् ।
नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् ।
‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ ।
यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’