चितवन-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नियमित सदन बोलाएर विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् ।
चितवनको माडी स्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको आरोप लगाए ।
संविधान र लोकतन्त्रको मर्म र भावना अनुरूप काम गर्न अध्यक्ष दाहालले सरकारसँग आग्रह समेत गरे ।“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन” अध्यक्ष दाहालले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए ।
अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशीता र सङ्घीयता को संरक्षण गर्ने हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अवसरमा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आवश्यक पर्ने उल्लेख गरे ।