काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ ।
मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो ।
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन्।
मानसिक समस्या भएको व्यक्ति रहेछ,' मन्त्री खड्काले घटनाबारे जानकारी दिँदै भने, 'सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए ।
मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ।' घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए ।
मन्त्री खड्काले बैठकमा भनेका थिए, 'गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो ।
गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे ।'