काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रदेश सरकारको भूमिका र आवश्यकताबारे प्रश्न गरेका छन् ।
आफूलाई भेट्न आएका बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानी उनले यस्तो बताएका हुन् ।
‘स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो?,' उनको प्रश्न छ ।
संघबाट अधिकार लिएर स्थानीय तहलाई बलियो बनाउन सक्ने प्रदेश सरकारको आवश्यकता भए पनि त्यस्तो आभाष हुन नसकेको उनले बताए ।
‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन,’ उनले भने । स्थानीय तहले गर्ने काममा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।'
सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ। नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ। यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो। त्यसो हुन सकेन,’ छलफलका क्रममा उनले भने।
छलफलका क्रममा प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारका बीचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु ।
राजनीतिक संवादका लागि वातावरण मिलाउँछु,’ उनले भने। भेटवार्तामा राजस्व संकलन, राजस्व बाँडफाँट, कर्मचारी व्यवस्थापन, संविधानले अधिकार दिएको नगर प्रहरीसम्बन्धी व्यवस्था स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले नसमेटेकाले महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयनलगायत विषयमा कुराकानी छलफल भएको थियो। छलफलमा काठमाडौं महानगरकी उपप्रमुख डंगोल पनि सहभागी थिइन् ।