खोटाङ- कोरोना महामारीले देश आक्रान्त छ। अस्पताल सम्म गएर उपचार नपाउँदा सयौंले ज्यान गुमानु परेको छ। महामारीलाई नूनिकरण गर्न देशमा लकडाउन गरिएको अवस्था छ।
एक ठाउँबाट अर्को ठाउँमा जान सवारीसाधन पाउन मुस्किल छ। सवारीसाधन पूर्णरुपमा चलेका छैनन्। कोरोना महामारीका कारण नियमित औषधी सेवन गर्ने र डाक्टरसँग नियमित फलोपमा उपाचार गर्नेहरुको कन्तबिजोग भएको छ। बर्तमान सरकार कोरोना नियन्त्रणमा भन्दा पनि कुर्सी टिकाउने खेलमा छ। देशमा हरेक दिन कोरोना संक्रमितको संख्या र मृत्यु्दर पनि उत्तिकै बढीरहेको छ।
यस्तो विषम परिस्थितीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेतृ बिमला राईले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ।
नगरपालिकाको गाडी प्रयोग गर्दै आएकी राईले आफू उपप्रमुखमा निर्वाचित हुनु अघि गाडी नहँुदा पनि आफ्नो दैनिकी चलेको भन्दै यो महामारीमा आफू गाडी चडेर हिड्ने अनि कोरोना संक्रमित उपचारमा जानलाई थप समस्या झेल्नुपर्ने अवस्था हुन नदिन गाडीलाई एम्बुलेन्स बनाइएको उनको भनाई छ।
कोरोनाबाट संक्रमित बिरामीहरु एम्बुलेन्सको समस्याले उपचारका लागि अस्पताल जान समस्या नहोस भन्नका लागि अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा १ झ ६४२४ नम्बरका गाडी स्वास्थ्य शाखालाई जिम्मा दिएको उनले बताइन्।
कोरोना संक्रमित बिरामीलाई घरबाट नगरपालिकाले निर्माण गरेको आइसोलेसन वेडमा उपचारका लागि पुर्याउन नगरपालिकामा उपचार हुन नसकेर रेफर भएका बिरामीलाई अस्पतालसम्म पुर्याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको उपप्रमुख राईले बताइन् ।
यो विषम परिस्थिती र कोरोना कहरको अवस्थामा आफु नगरवासीको सेवामा सदैव समर्पित हुने उनको दावी छ। नगरपालिकामा एम्बुलेन्स नभएकाले बिरामीलाई घरबाट नगरापालिकाले निर्माण गरेको आइसोलेसन वेडमा उपचारका लागि लैजान र त्यहाँ उपचार हुन नसकेर रेफर भएका बिरामीलाई अस्पतालसम्म पुर्याउन र ल्याउनका लागि प्रयोग गर्न आफू चढ्ने गाडी दिएको राईले जानकारी दिइन्।
बिरामीका लागि प्रयोग नभएका समयमा घर समुदाय र स्वास्थ सन्देश प्रचार प्रसार र स्वास्थ्य संस्थामा औषधी उपकरण ओसार पसारमा उपयोग गरिने नगरपालिकाले जनाएको छ । यो संकटको घडीमा आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने उपप्रमुख राईले बताइन् ।