काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने भएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आज साँझसम्म पत्रकार सम्मेलनको तयारी गरिरहेको जानकारी दिएका छन्।
’गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है।
मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु’ रविले लेखेका छन् ’मिडियामा निरन्तर आइरहेका “स्लिप“ मा कोहि “स्लिप“ हुनै पर्दैन।
बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।
ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको आजै मात्र कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो।
लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ।
अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन्।
