काठमाडौं - तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र विजयप्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरू भइसकेको छ।
अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै दिनुपरेको थियो । विवादमा परेको एउटा कम्पनीलाई सरकारले सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विवादमा तानिएको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिएको छ ।
ठेक्का बोलकबोलमा दोस्रो नम्बरमा रहेको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिने आशयको सूचना केन्द्रले निकालेपछि बोलकबोलमा पहिलो नम्बरमा रहेको एलिमेक इन्टरनेसनल कम्पनी जिल्लिएको छ।
टेन्डरमा एलिमेक इन्टरनेसनल कम्पनी प्रालिले ६७ करोड रुपैयाँ उल्लेख गरेको थियो भने म्याक्स इन्टरनेसनल कम्पनीले ७३ करोड ८८ लाख ९८ हजार ७४० र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिले ८१ करोडमा बोलकबोल गरेको थियो। कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भए पनि सुरक्षण मुद्रण केन्द्रले अख्तियारलाई समेत बेवास्ता गर्दै म्याक्स इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता गरेको छ।
गत चैत २७ गते अख्तियारले ठेक्काको फाइल तानेर लगेकै दिन केन्द्रका प्रमुख विकल पौडेल र कम्पनीका मालिक अकवर हुसेनले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् । केन्द्रले अख्तियारले फाइल लगेको तेस्रो दिन म्याक्स इन्टरनेसनको नाममा १४ करोड भुक्तानी समेत दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ ।
म्याक्स इन्टरनेसनलले अनलाइन बिडिड गर्दा ८१ करोड मूल्य उल्लेख गरेको भएपनि सम्झौता गर्दा भने ७३ करोड ८८ लाख ९८ हजार ७४० रुपैयाँमा सम्झौता गरेको पाइएको छ । म्याक्स इन्टरनेसनले चीनमा बनेको एचपी कम्पनीको मशिन खरिद गरेर उपलब्ध गराउने उल्लेख गरेको थियो । एलिमेक इन्टरनेसनल कम्पनीले इटालीमा बनेको डट्स कम्पनीको मशिन उपलब्ध गराउने उल्लेख गरेको थियो ।
एलिमेक इन्टरनेसनल कम्पनीले ६७ करोडमा मशिन खरिद गरेर जडान गरी सञ्चालनमा ल्याएर केन्द्रलाई हस्तान्तरण गर्ने उल्लेख गरेको थियो । सरकारले सम्झौता गरेको म्याक्स इन्टरनेशनल कम्पनीले मशिन खरिद गरेर नेपाल ल्याएपछि सबै भुक्तानी गर्ने गरी सम्झौता गरेकाले प्रेस सञ्चालनमा आउने सम्भावना निकै कम रहेको विज्ञहरूले जनाएका छन् ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलिसँग मिलेर म्याक्स इन्टरनेससन प्रालिले सरकारी काम तथा जताततै टेण्डर पारिराखेको स्रोतको आरोप लागेको छ । ‘गोकुल बाँस्कोटाको त्यस्तो ठूलो काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसमा चलखेल गर्न माथिको आशिर्वाद नभए कसले आँट गर्न सक्छ र ?’ स्रोतले भन्यो ।
4समाचारबारे म्याक्स इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक अक्वर हुसेनसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।