एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को दोस्रो खेलमा सहआयोजक श्रीलंका र बंगलादेश भिड्दैछन् ।
यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा क्रिकेट रंगशालामा हुनेछ ।घरेलु मैदानमा आज साविक विजेता आज स्पष्ट जितको खोजीमा हुनेछ । हुन पनि एकदिवसीय क्रिकेटमा श्रीलंका बंगलादेशमाथि हाबी छ ।
यी टोलीबीच ५२ पटक भेट हुँदा श्रीलंकाले ४१ खेल जितेको छ । बंगलादेशले भने नौ खेलमा मात्र जित्न सफल भएको छ । यी दुई टोलीबीचका दुई खेल भने नतिजा नआइ सकिएका छन् ।जारी एसिया कपको समूह चरणमा पनि श्रीलंकाले बंगलादेशलाई ६६ बल खेल्न बाँकी छँदै पाँच विकेटले पराजित गरेको थियो ।
यता, विगतको इतिहास बिर्सिएर बंगलादेश भने पाँच पटकको विजेता श्रीलंकामाथि आज स्तब्ध नतिजा ल्याउने धुनमा हुनेछ । समूह ‘बी’मा आयोजक श्रीलंका र बंगलादेशसँगै अफगानिस्तान पनि थिए । यीमध्ये श्रीलंका र बंगलादेश सुपर ४ मा पुगेका हुन् । श्रीलंका समूह विजेता तथा बंगलादेश उपविजेता बनेका थिए ।
समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान थिए । नेपाल समूह चरणबाटै बाहिरिएको छ । भारत एसिया कपको सर्वाधिक ६ पटकको विजेता हो भने पाकिस्तानले दुई पटक जितेको छ ।
यस्तै, श्रीलंकाले पाँच पटक जितेको छ । सुपर ४ को पहिलो खेलमा आयोजकले अफगानिस्तानलाई हराएको थियो । अंक तालिकाका पाकिस्तान अगाडि छ ।