काठमाडौं - कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ।
साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो उपाधि हो ।अल हिलालको घरेलु मैदान किङ फाहद रंगशालामा सम्पन्न खेलमा अल नासरका लागि दुवै गोल रोनाल्डोले गरे।
अल हिलालका माइकलले गोल गरे पनि हार टार्न भने सकेनन् । खेलमा सुरुआती अग्रता भने अल हिलालले बनाएको थियो । ५१औँ मिनेटमा माइकलले गरेको गोलबाट हिलालले अग्रता कायम गरेको थियो।
तर, ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै नासरलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को अग्रतामा राखेका थिए । यसपछि अल हिलालले गोल फर्काउन नसक्दा नासरले २–१ को जित सहित अरब कपको उपाधि उचाल्यो।
त्यसअघि खेलको ७१औँ मिनेटमा अब्दुलेलह अल–अमरीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि अल नासरले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो।