काठमाडौं - माओवादी केन्द्रले नयाँ सरकार बनाउन थप गृहकार्य गर्ने भएको छ। मंगलबार बसेको पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले नयाँ सरकार बनाउन छलफल तीब्र पार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिँदै श्रेष्ठले भन्नुभयो – ‘नयाँ सरकार गठनको विषयमा कांग्रेस र जसपासँग निरन्तर छलफल भइरहेको छ, यसलाई अझ बढी तिब्रता दिइनेछ।’
सरकारले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि कुनै पक्षसँग छलफल नगरेको बताउँदै श्रेष्ठले भन्नुभयो – ‘आजको अवस्थामा प्रतिनिधि सभाको अधिवेशनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने परिस्थितिमा संसद् अधिवेशन हठात् अन्त्य गर्ने काम गर्योे, यो अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो, त्यो कदमको भत्र्सना पनि पार्टीले गरेको छ।’ राजनीतिक उपलब्धिहरु संकटमा पर्ने खतरा रहेकाले माओवादी चिन्तित रहेको बताउँदै नारायणकाजीले भन्नुभयो - ‘हामीले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पनि गम्भीर हुनुपर्ने, सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यक छ ।’
बैठकमा प्रचण्डले जसरी हुन्छ केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्ने बताउनुभएको श्रेष्ठले जानकारी दिनुभयो। ‘वर्तमान सरकारलाई अपदस्थ गरेर अर्को सरकार ल्याउँनु नै हाम्रो मुख्य उद्देश्य हो’- प्रचण्डको भनाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो। चुनाव भन्दा पनि केपी ओलीसँग डराउनुपर्ने निष्कर्ष माओवादीको छ।
संविधान अनुसार चुनाव भए आफूहरु पनि सहभागी हुने बताउँदै उहाँले भन्नुभयो – ‘चुनावमा ओली नेतृत्वको सरकारले धाँधली गर्छ भन्ने शंका छ।’ कोरोना संक्रमणबाट बच्न र बचाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो।
कोरोनासम्बन्धी आफ्नो आदेश सरकार आफैंले पालना नगरेको समेत उहाँले बताउनुभयो।