काठमाडौं - माओवादी केन्द्रलाई ध्वस्त बनाएका प्रधानमन्त्री केपी ओलीले अहिले जसपामा ध्यानकेन्द्रित गरेका छन्।
माओवादी केन्द्रका १६ सांसद र नाम चलेका नेता कार्यकर्तालाई आफ्नो पार्टी एमाले प्रवेश गराएर पुष्पकमल दाहाल प्रचण्डको शेखी झारेका ओलीले चाँडै बाबुराम भट्टराई र उपेन्द्र यादवलाई त्यही हालतमा पुर्याइदिने भएका छन्।
राजनीतिमा जोसँग बढी निकटता हुन्छ वा गरिन्छ, त्यसमा केही न केही स्वार्थ हुन्छ नै। अहिले ओली जसपासँग निकट हुनुको कारण सत्ता टिकाउने स्वार्थ मात्रै हो।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई छिन्नभिन्न बनाउने खेल खेलेका छन्। त्यसको सुरुवात लुम्बिनी प्रदेशबाट सुरु भइसकेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने माओवादी केन्द्रको खेलमा जसपा पनि सहभागी भएपछि ओलीकै निर्देशनमा लुम्बिनी जसपा विभाजित बनाइएको छ।
मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनजनासहित जसपाका चार सांसदलाई थपेर सोमबार नै मन्त्रिपरिषद् विस्तार गरेपछि रडाको मच्चिएको छ।
प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपाका विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाएका हुन्।
यो विषयले जसपा स्पष्ट दुई चिरामा विभक्त भएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँगको सत्ता सहकार्यमा खुसी देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव आक्रोशित भएका छन्।
मन्त्री बनेका चारजनालाई कारबाही गर्ने कि नभन्ने विषयले नै जसपा विभाजन हुने भएको छ। सो विषयमा स्पष्टीकरण सोध्ने कि नसोध्ने, कसरी कारबाही गर्ने भन्ने अन्योल देखिएको छ।
केन्द्रमा ओली सरकार ढाल्ने खेल थाहा पाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशमै जसपा फुटाउन लागेका हुन्।