खोटाङ फुटवल एकेडेमी (केएफए)ले पत्रकार चिसाङ शेर्पालाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको खेल क्षेत्रको वृत्ति र विकासमा पुर्याएको योगदानको कदर गर्दै केएफएले जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करण समापनको अवशरमा पत्रकार शेर्पालाई ६ हजार ६६६ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो । दिक्तेलको माटिकोरे खेलमैदानमा सोमबार खोटाङ फुटवल एकेडेमी काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष तुला राजभण्डारीले पत्रकार शेर्पालाई पुरस्कार राशी र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । केएफए लगायत जिल्लामा भएका हरेक खेलकुद सम्वन्धी गतिविधिलाई स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट प्रकाशन–प्रशारण गर्दै प्रचार–प्रसारमा योगदान पुर्याएकोमा पत्रकार शेर्पालाई केएफए खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको खोटाङ फुटवल एकेडेमी दिक्तेलका अध्यक्ष नुरकाजी सैंजुले बताए । नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव शेर्पा समायोजन खवर डटकमका अध्यक्ष, एपीवान टेलिभिजनका संवाददाता र हिमालय टाइम्स दैनिकका संवादाता हुन् । शेर्पा केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आयोजना गरिएको मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगितामा पनि खेलकुद पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका थिए । शेर्पाले जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग भइरहेको विषयमा पहिलोपल्ट समाचार लेखेकै कारण प्रशासनले सरकारी सवारी साधनको दुरुपयोगका विषयमा निगरानी गर्ने वातावरण बनेको थियो ।