काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारबाट दुःखी भएको बताएका छन्।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
‘हामी गठबन्धनमा थियौं। सरकार गठनको बारेमा छलफलमा थियौं तर प्रचण्डले हामीलाई जानकारी समेत नदिई अरूको समर्थनमा प्रधानमन्त्री भए। प्रचण्डको यो व्यवहारले दुःखी छु,’ नेपालले भने।
कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई हेपेको टिप्पणी पनि नेपालले गरेका छन्। ‘चुनावमा हामीले गठबन्धन कायम राख्छौं भनेका थियौं, राख्यौं। चुनावमा कांग्रेस केही ठूलो शक्ति भएर आयो तर २०७४ सालमा एमाले जस्तो ठूलो भएको पनि होइन।
यो नतिजाले पनि कांग्रेसको भूइँमा खुट्टो रहेन,’ उनले भने, ‘चुनावको नतिजापछि कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हेप्यो।’ निर्वाचनमा भने गठबन्धनले गर्दा एकीकृत समाजवादीलाई फाइदा नै भएको नेपालले सुनाए।
कांग्रेसले एकीकृत समाजवादीकै कारण सरकार चलाउन पाएको र अहिलेको अवस्थामा पुगेको भए पनि कांग्रेसका नेताहरूले गुण नदेखेको नेपालले टिप्पणी गरे। चुनावका बेला १–२ सीटमा पनि कांग्रेसले एकदमै असहयोग गरेको उनले बताए।
पछिल्ला दिनमा आफू निरन्तर प्रचण्डसँग कुराकानीमा रहेको भन्दै उनले परिस्थिति जटिल अवस्थामा रहेको नेपालले ‘रवि लामिछानेले क्रान्तिकारी कुरा गरेर आएका छन् तर जनताको असन्तुष्टि सम्बोधन गर्न शेरबहादुरबाट हुँदै प्रचण्ड नै अगाडि सर्नुपर्छ भनेर मैले नै भनेको हो तर प्रचण्डले एक्लाएक्लै भेटेर खुसुखुसु कुरा गरेर प्रधानमन्त्रीको आश्वासन लिइहाल्नुभयो,’ उनले भने।
तर पछि देउवाले प्रधानमन्त्री दिन नचाहेपछि मात्रै प्रचण्डले आफूलाई पहल गरिदिनुप-यो भनेको नेपालले सुनाए।