खोटाङ, वैशाख २४- खोटाङमा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ।
जिल्लाको रावाबेँसी गाउँपालिकामा चुनाव प्रचार-प्रसारका क्रममा बालबालिकालाई पार्टीको झण्डा बोकाएर घरदैलो अभियान सञ्चालन गरेको पाइएको हो।
शनिबार दिउँसो नेकपा एमालेबाट रावाबेँसी गाउँपालिकाको अध्यक्षका उम्मेदवार हरिकुमार पोखरेल, उपाध्यक्षकी उम्मेदवार कौशिला गुरुङ र वडा नं.–६ हौंचुरका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले बालबालिकालाई पार्टीको झण्डा बोकाएर चुनाव प्रचारमा सहभागी भएका देखिएको छ।

चुनाव प्रचारमा सहभागी हुँदै गर्दा खिचिएको तस्वीरमा बालबालिकाले पार्टीको झण्डा बोकेको देखिन्छ। उक्त तस्वीर वडाध्यक्षका उम्मेदवार श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा पोष्टसमेत गरेका छन्।
निर्वाचन आचारसंहिताले चुनावमा बालबालिकाको प्रयोग निषेध गरेको छ।
तर, जिम्मेवार राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिताको ठाडो उल्लंघन गर्दै खुलेआम रूपमा बालबालिकाको प्रयोग गरेका छन्।