पवन खड्का खोटाङ- वराहपोखरी गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार ढकबहादुर कार्कीले आफू निर्वाचित भएपछि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।
वैशाख ३० गते हुुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका कार्कीले बिना पारिश्रमिक काम गर्ने बताएका हुन्। सरकारी सुविधाबापत प्राप्त हुने तलबभत्ताको रकम नागरिकको सेवा र वडाको विकास निर्माणमा परिचालन गर्ने कार्कीले बताए।
‘म आफ्नो व्यक्तिगत लाभका लागि नभई नागरिकको निःस्वार्थ सेवाका लागि राजनीतिमा आएको हुँ,’ कार्कीले भने, ‘सरकारी सुविधामात्र हैन, कार्यालयीय प्रयोजनका लागि राज्यबाट प्राप्त हुने सवारी साधन पनि लिँदिँन, निजी प्रयोग गर्छु।’ वराहपोखरीका परिचित व्यवसायीसमेत रहेका कार्कीले आफूलाई कुनै कुराको अभाव नरहेको बताए।
आफू निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन र भौतिक पूर्वाधारको तीव्र विकास गरेर ५ वर्षभित्र नमुना वडा बनाउने कार्कीको प्रतिबद्धता छ। सुशासनको प्रत्याभूतिका लागि भ्रष्टारचार र अनियमितताका सवालमा ‘शून्य सहनशीलता’ को नीति लिने कार्कीले बताए ।
‘आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि गर्न नदिने कुरालाई नारामै सीमित रहन दिन्नँ,’ कार्कीले भने, ‘म आफैँले पनि एक पैसा हिनामिना गरेको पुष्टि भए तत्काल राजीनामा दिएर सजायको भागीदार बन्छु र अरू कसैले अनियमितता गरेको सुन्नमा आए अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याँउँछु।’
२७ वर्ष शिक्षण पेसामा आबद्ध कार्की अवकाशको समय नजिकिँदै गर्दा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट राजनीतिमा प्रवेश गरेका हुन्। गत निर्वाचनमा नेपाली कांग्रेसबाटै वडाध्यक्षको उम्मेदवार रहेका कार्की नेकपा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका थिए।
६२६ मत ल्याएर मगर वडाध्यक्षमा विजयी हुँदा कार्कीले ५३३ मत ल्याएका थिए। उक्त वडामा यसपटकको निर्वाचन निकै रोचक हुने देखिएको छ। साविकको वडा नं-५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका कार्कीलाई कांग्रेसले दोस्रोपटक वडाध्यक्षको टिकट दिइरहँदा एमालेले पनि यसपटक पूर्व प्रअलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको छ।
साविकको वडा नं-४, वालिङटार, पोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रअ शिवकुमार श्रेष्ठलाई एमालेले वडाध्यक्षमा उठाएको हो ।
३९ वर्ष शिक्षण पेशामा आबद्ध श्रेष्ठ अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा आएका हुन्। पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएपछि कार्की र श्रेष्ठलाई यतिबेला मतदाता फकाउन भ्याइनभ्याइ छ।
लोकप्रिय मत ल्याएर जित्ने दाबीसहित दुवै जना नागरिकका घरदैलोमा पुगिरहेका छन्। वराहपोखरी गाउँपालिकामा कांग्रेस, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि कांग्रेस र एमालेबाहेक अरू दलको खास प्रभाव नरहेको वडा नं.१ मा दुवै जना एकल दलबाट चुनाव लड्दैछन्।
विगतको मत परिणामलाई हेर्दा कसले जित्ने हो भनेर सजिलै भन्न सकिने अवस्था छैन। अझ रोचक कुरा त के छ भने कार्की र श्रेष्ठ दुवैको बसोबासस्थल पनि एकै गाउँ पोखरी हो। उक्त वडामा नेकपा माओवादी केन्द्रका महेन्द्र मगर पनि वडाध्यक्षका लागि चुनावी मैदानमा छन्।