खोटाङ- नेकपा (एमाले) खोटाङले स्थानीय तहको उम्मेद्वारको नाम टुंगो लगाएको छ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि एमालेले दुई नगरपालिका र आठ गाउँपालिकामध्ये नौंवटा पालिकाको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको उम्मेद्वारको नाम टुंगो लगाएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार प्रसाद आचार्य उपप्रमुखमा विणादेवी राईको नाम एमाले जिल्ला कमिटिले १ नम्बर प्रदेश कमिटि विराटनगरलाई सिफारिस गरेको छ।
हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साङपाङको नाम सिफारिस गरेको छ। उपप्रमुख भने खाली राखेको छ।
ऐंसेलुखर्क गाउँपालिको अध्यक्षमा गिरेन्द्र बहादुर राई उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्ष खाली राखेको छ।
रावावेसीं गाउँपालिको अध्यक्षमा हरिकुमार पोख्रेल, उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राई, (उपाध्यक्ष खाली), खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जारा, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखर बहादुर राई र उपाध्यक्षमा विमला राई, वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगर (उपाध्यक्ष खाली) को नाम जिल्ला कमिटिले टुंगो लगाएर सिफारिस गरेको हो।
साकेला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लाग्न बाँकी रहेको एमाले स्रोतले जनाएको छ।
नेकपा एमाले जिल्ला कमिटिको चैत्र २० गतेकोे तेस्रो पूर्ण बैठकले निर्वाचनमा उम्मेद्वार छनौट तथा सिफारिस गर्नको लागि कमिटिको सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको थियो।
वैशाख ३ गते सचिवालयको बैठकबाट उम्मेद्वार छनौट तथा सिफारिस गर्न कार्यदल बनाइएको थियो। जिल्ला कमिटि खोटाङको उम्मेद्वार छनौट तथा सिफारिस कार्यदलको वैशाख ४ गते बसेको बैठकले ७९ वटै वडाका उम्मेदवार तथा ९ वटा पालिकाको उम्मेद्वारहरुको सर्वसम्मतले नाम टुंगो लगाएर सिफारिसको लागि प्रदेशमा वैशाख ५ गते पठाएको एमालेका एक नेताले जानकारी दिए।
साकेला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा केही पालिकामा खाली रहेका उपाध्यक्ष पदका उम्मेद्वारको नाम केही दिन भित्रमै टुंगो लगाइने एमालेले जनाएको छ।
एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई रहेका थिए।
त्याग गरेका नेतालाई एमालेले सम्मान गर्यो : कार्यकर्ता
नेकपा एमालेले पालिका उम्मेद्वारको नाम टुंगो लगाएपछि कार्यकर्ता भने खुशी भएका छन्।
खासगरि एमालेमा लामो समयदेखी अनवरत दुख गरेका कुमार प्रसाद आचार्य र हरिकुमार पोख्रेल उम्मेद्वार बन्ने भएपछि कार्यकर्ता खुशी भएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखको उम्मेद्वारका लागि नाम सिफारिस भएका कुमारप्रसाद आचार्य जस्तोसुकै कालखण्डमा पार्टीकाे निम्ति ज्यान दिने एक नेताकारुपमा परिचित छन्।
उनी २०७४ सालको स्थानीय निर्वाचनमा नै नगर प्रमुखको टिकटमा दावेदार थिए। तर, सो नगरको लागि दिपनारायण रिजालले प्रमुखमा र विणादेवी राईले उपप्रमुखमा टिकट पाएपछि आचार्यले भरपुर सहयोग गरेका थिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वर्तमान प्रमुख दिपनारायाण रिजालले भने यस पटक चुनावमा नलड्ने घोषणा गरिसकेका छन्।
रावावेंशी गाउँपालिकाकाे अध्यक्षमा सिफारिस भएका पोख्रेलले पनि पार्टीमा लामो योगदान गरेको एमालेले बताएको छ। उनलाई २०७४ सालको निर्वाचनमा टिकट नदिएर लिलानाथ निरौलालाई दिएको थियो। तर, यसपटक पोख्रेललाई उम्मेद्वार बनाएर पार्टीले उच्च सम्मान गरेको कार्यकर्ताको ठहर छ।
यस्तै, खोटेहाङ गाउँपालिकामा वर्तमान उपाध्यक्ष कविता राई र वराहपोखरी गाउँपालिकाको वर्तमान उपाध्यक्ष गोमा मगरलाई अध्यक्षको उम्मेद्वार बनाएको भन्दै कार्यकर्ता खुशी भएका छन्।
जन्तेढुंगा र केपिलासगढीमा भने एमालेले पुरानै व्यक्तिलाई दाेहोर्याएको छ।