• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा दश स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? 

खोटाङमा दश स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? 

images

प्रभाव न्यूज

७ बैशाख २०७९
  • 25.3K
    SHARES
  • images
    खोटाङमा दश स्थानीय तहमा कुन राजनीतिक दलको अवस्था कस्तो ? 
    images
    images
    images


    राजकुमार भट्टराई, खोटाङ, बैशाख ७ -  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिबेला सबैको ध्यान तानेको छ। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन भने कुन राजनीतिक दलको उम्मेद्वार कस्ता आउनेहुन भन्ने मतदाताको चासो बिषय बनेको छ।

    images

    आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ। निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् ।

    यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेपनि खोटाङमा ती राजनीतिक दलको प्रभाव भने देखिदैन।

    दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ। हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो। 

    images

    हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेद्वारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन्। त्यसोत यी चार पालिकामा तीन पार्टीबिच तालमेल हुँदा नेपाली कांगेस र नेकपा एमाले एक्ला एक्लै लड्नेछन्।

    images

    बाँकी ६ पालिकामा चार दलीय गठबन्धन बनेको छ, जहाँ एमालेले एक्लै लड्नेछ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन्। तर, जिल्लाका सबै स्थानीय तहमा उम्मेद्वार भने टुंगिएको छैन।

    आसन्न स्थानीय तहको निर्वाचन कस्तो होल त? कुन पालिका कसले जित्ला यो सबैको चासोको बिषय हो भन्दा फरक नपर्ला। त्यसोत अघिल्लो अर्थात वि.स. २०७४ सालमा भएको निर्वाचनमा भने जिल्लामा एमाले पहिलो दल बनेको थियो। उसले ५ स्थानीय तह प्रमुख र ७ उप–प्रमुखसँगै ३७ वडामा जितेको थियो। ४ स्थानीय तह प्रमुख र ३ उप-प्रमुखसँगै २७ वडामा कांग्रेसले जितेको थियो। यस्तै माओवादी केन्द्रले १ पालिका प्रमुखसँगै १२ वडामा जीत हात पार्दा २ वडामा तत्कालीन संघीय समाजवादी (हाल जसपा) र १ वडामा राप्रपाले जितेका थिए।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    जिल्लाको सदरमुकाम समेत रहेको एवम् सबै भन्दा धेरै मतदाता भएको यस नगरपालिकामा वि.स. २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले प्रमुख उप–उपप्रमुख दुवै जितेको थियो। प्रमुखमा एमालेबाट दिप नारायण रिजालले ५ हजार ३ सय ४३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजनशेर राईले ४ हजार ७ सय १८ मत पाएर दोस्रो र माओवादी केन्द्रबाट दुर्गा जयन्ती राईले ४ हजार ४ सय ३४ मत प्राप्त गर्दै तेस्रो हुनुभएको थियो । यस्तै तत्कालीन संघीय समाजवादी ९हाल जसपा०का धनकुमार राईले ७ सय ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण राईले ५ सय ६ मत प्राप्त गर्नुभएको थियो।

    आसन्न स्थानीय तहको चुनावमा भने यस नगरपालिकामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गर्ने निर्णय गरिसकेका छन्। त्यसोत एमालेबाट फुटेर निर्माण भएको एकिकृत समाजवादीले एमालेको केही मत काट्ने र अन्य पार्टीले आफ्नो पुरानो मत मात्रै जोगाउने हो भनेपनि एमालेलाई यस नगरपालिकामा पूनः जित निकाल्न निकै कठिन छ। 

    सोझो तरिकाले हेर्दा यस नगरपालिकामा एमालेको भन्दा गठबन्धनको डबल मत रहेको प्रष्ट छ। तर मतदाताले पार्टी भन्दा पनि स्थानीय तहमा उम्मेद्वार हेरेर मत हाल्ने गरेको हुँदा मतपरिणाम बारे यसै भन्न सकिन्न। १५ वटा वडा रहेकोमा ६ वटा वडामा एमाले, ३ वटा वडामा माओवादी, ३ वटा वडामा कांग्रेस, २ वटामा संघीय समाजवादी (जसपा) र १ वडामा राप्रपाका उम्मेद्वार विजयी भएका थिए। यस नगरपालिकामा अघिल्लो निर्वाचनमा २६ हजार २ सय ८३ मतदाता थिए भने अहिले बढेर ३४ हजार ७८ मतदाता पुगेको छ।
    हलेसी तुवाचुङ नगरपालिका

    मतदाताको हिसाबले जिल्लाको दोस्रो स्थानीय तह यस नगरपालिका नेपाली कांग्रेसले आफ्नो पकट क्षेत्र मान्दै आएको छ। अघिल्लो निर्वाचनलाई हेर्ने हो भने पनि सोही देखिन्छ। ११ वटा वडा रहेको यस नगरपालिकामा कांग्रेस ७ वटा वडामा, एमाले ३ वडामा र माओवादी १ वडामा विजयी हुँदा नगरपालिका प्रमुख र उप–प्रमुख दुवै कांग्रेसले जितेको थियो।

    नेपाली कांग्रेसका उम्मेद्वार इवन राईले ४ हजार ३ सय ९७ मत प्राप्त गर्दै विजयी हुँदा, नेकपा एमालेका खडेन्द्र राईले ३ हजार ९ सय ९९ मत पाएर दोस्रो, माओवादी केन्द्रका हरी गिरी १ हजार ६ सय ८६ मत पाएर तेस्रो र तत्कालीन संघीय समाजवादी (हाल जसपा) का बच्चु राईले २ सय ४९ मत प्राप्त गर्नु भएको थियो। 

    यस नगरपालिकामा भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेको छैन। कांग्रेस र एमाले एक्ला एक्लै चुनावी मैदानमा उत्रिदा माओवादी, एस र जसपा बिच गठबन्धन हुने सहमती भएको छ। एमालेबाट फुटेको एसले एमालेकै भोट काट्ने निश्चित हुँदा कांग्रेसलाई फाइदा हुने नेताहरु बताउछन। 

    अघिल्लो निर्वाचनलाई हेर्दा प्रमुख प्रतिस्पर्दा यस नगरपालिकामा कांग्रेस र एमालेकै हुने देखिन्छ। हलेसी तुवाचुङ नगरपालिकामा अघिल्लो निर्वाचनमा १६ हजार ४ सय ९० मतदाता रहेकोमा अहिले बढेर २० हजार ९ सय २१ पुगेको छ।

    ऐसेलुखर्क गाउँपालिका

    अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो। ७ वटा वडा रहेकोमा एमाले ३ वडामा र कांग्रेस र माओवादी २÷२ वडामा विजयी भएका थिए। तीन वडा जितेपनि एमाले गाउँपालिका प्रमुख भने जित्न सकेको थिएन। अध्यक्षमा कांग्रेसबाट विश्वनाथ निरौला २ हजार १ सय ३१ मत ल्याएर विजयी हुँदा एमालेबाट गृह बहादुर राई १ हजार ७ सय ३५ मत ल्याएर दोस्रो, माओवादीबाट श्री बहादुर राई १ हजार ३ सय ९६ मत ल्याएर तेसा्रे हुँदा तत्कालीन नयाँ शक्ति ९हाल जसपा० का अगम सिं राईले ७८ मत प्राप्त गर्नुभएको थियो।

    यस गाउँपालिकामा पनि चार दलले गठबन्धन गर्ने निर्णय गरेसँगै अघिल्लो मत परिणाम हेर्दा एमालेलाई जित्न कठीननै देखिन्छ। कांग्रेसले जितेको पालिका माओवादीको भागमा परेको भन्दै कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन्।

    यसको फाइदा एमालेले उठाउन सक्छ। तर एक ठिक्का भएर लाग्ने हो भने गठबन्धनका उम्मेद्वार विजयी हुने नेताहरु बताउछन। ऐसेलुखर्क गाउँपालिकामा अघिल्लो निर्वाचनमा ९ हजार ३ सय ५२ मतदाता हुँदा अहिले बढेर ११ हजार ४ सय ९५ पुगेको छ।

    केपिलासगढी गाउँपालिका

    अघिल्लो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको यस पालिकामा यो पटक भने निर्वाचन रोमाञ्चक हुने भएको छ। एमालेबाट फुटेर निर्माण भएको एकिकृत समाजवादी पार्टीका पोलिटप्युरो सदस्य एवं प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री राजन राईको घर पनि सोही गाउँपालिका हो। एमालेलाई फुटको असर जिल्लाको सबै भन्दा धेरै सोही गाउँपालिकामा परेको नेताहरु बताउछन।

    त्यसोत एमालेको धेरै भोट एसले काट्ने निश्चित नै छ। तर केपिलासगढीमा कांग्रेस गठबन्धनमा सामेल छैन। त्यसैलेपनि यस पालिकाको निर्वाचन जिल्लाकै रोमाञ्चक हुने छ। किनभने अघिल्लो चुनावमा दोस्रो भएको कांग्रेस एक्लै चुनावमा उत्रितैछ भने अघिल्लो चुनवामा जितेको तर अहिले फुटेको एमाले पनि एक्लै चुनावमा हुनेछ। यता जिल्लाकै सबै भन्दा धेरै आफ्नो मतदाता रहको स्थानीय तह मान्ने एस र जसपा पार्टी र साथमा माओवादी बिच गठबन्धन हुँदा कुन बलियो र कुन कमजोर भन्न सकिने ठाउँ छैन।

    अघिल्लो निर्वाचनमा एमालेका कृष्णकुमार राई १ हजार ८ सय ६ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका समिर राई १ हजार १ सय ५१ मत ल्याएर दोस्रो, तत्कालीन संघीय समाजवादी (हाल जसपा) का पुर्णराज राई ६ सय १३ मत ल्याएर तेस्रो हुँदा माओवादीबाट मन कुमारी रसाइली ५ सय ८४ मत प्राप्त गर्दै चौथो हुनुभएको थियो। ७ वडा रहेकोमा ४ वडामा एमाले, २ वडामा कांग्रेस र १ वडामा माओवादी विजयी भएको थियो। केपिलासगढी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ७ सय २२ मतदाता रहेकोमा अहिले बढेर १० हजार ८ सय ३८ पुगेको छ।

    खोटेहाङ गाउँपालिका

    नेकपा एमालेका पोलिटप्युरो सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराईको घर रहेको यस गाउँपालिका जिल्लामा एमालेको सबै भन्दा बलियो अर्थात पकट क्षेत्र हो। अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो। ९ वटा वडा रहेकोमा ६ वडामा एमाले विजयी हुँदा माओवादी २ र कांग्रेस १ वडामा मात्र विजयी भएका थिए।

    गाउँपालिका अध्यक्षमा एमालेका प्रदिप राई ३ हजार १ सय २७ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका राजन प्रसाद ढकाल २ हजार ६ सय ८२ मत ल्याएर दोस्रो, कांग्रेसका प्रेम कुमार राई ९ सय ६३ मत ल्याएर तेस्रो हुनुभएको थियो।

    एमालेलाई फुटले केही मत काटिएपनि तत्कालीन समयमा माओवादीबाट उम्मेद्वार बनेका केही नेता एमालेमा प्रवेश गरेको हुँदा एमालेको पहिलेकै अवस्थाको मतदाता रहेको नेताहरु बताउछन। यता माओवादीका मतदाता पहिलेको तुलानामा केही घटेको र कांग्रेस पनि उक्त पालिकामा केही कमजोर देखिएको कारण गठबन्धनलाई खोटेहाङ गाउँपालिका जित्न भने निकै मेहनत गर्नु पर्ने नेताहरु बताउछन। खोटेहाङ गाउँपालिकामा अघिल्लो निर्वाचनमा १२ हजार ४ सय ११ मतदाता रहेकोमा अहिले बढेर १५ हजार २ सय ४५ पुगेको छ।

    जन्तेढुंगा गाउँपालिका

    एमालेले आफ्नो पकट क्षेत्र मान्ने अर्को स्थानीय तह जन्तेढुंगा गाउँपालिका हो। जहाँ अघिल्लो स्थानीय तहको चुनावमा अध्यक्ष उपाध्यक्ष दुवै एमालले जितेको थियो। ६ वटा वडा रहेकोमा ४ वडामा एमाले विजयी हुँदा १÷१ वडामा मात्र कांग्रेस र माओवादी विजयी भएका थिए।

    गाउँपालिका अध्यक्षमा शंखर बहादुर राई २ हजार १ सय ५३ मात प्राप्त गरेर विजयी हुँदा कांग्रेसका खेम बहादुर खड्का १ हजार ५ सय ६२ मत पाएर दोस्रो हुनुभएको थियो। यस्तै माओवादीकी अरुणा राईले १ हजार १ सय ४७ मत पाउदा तत्कालीन संघीय समाजवादी (हाल जसपा) का देवेन्द्र श्रेष्ठले ७४ मत पाउनु भएको थियो।

    अघिल्लो निर्वाचनको आधारमा भन्ने हो भने आफ्नो मतलाई जोघाउन सके गठबन्धनले जित निकाल्न सक्ने नेताहरु बताउछन। जन्तेढुंगा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ८ हजार ३ सय ५६ मतदाता रहेकोमा अहिले बढेर १० हजार २ सय १३ पुगेको छ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका

    हलेसी तुवाचुङ नगरपालिकासँगै नेपाली कांग्रेसले जिल्लाको अर्को पकट क्षेत्र मान्ने स्थानीय तह दिप्रुङ चुइचुम्मा गाउँपालिका हो। अघिल्लो निर्वाचनमा कांग्रेसका भुपेन्द्र राई भारी मतान्तरले विजयी हुनुभएको थियो। राईले २ हजार ९ सय ८० मत प्राप्त गरेर विजयी हुँदा एमालेका अर्जुन कुमार क्षेत्री १ हजार ८ सय ४८ मत प्राप्त गर्दै दोस्रो र माओवादीका दिपक पाण्डे १ हजार ७ सय १५ मत पाएर तेस्रो हुनुभएको थियो। यस्तै तत्कालीन संघीय समाजवादी (हाल जसपा) का पृथ्वी कुमार राईले ८९ मत पाउनु भएको थियो। ७ वटा वडा रहेको यस पालिकामा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको थियो भने गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसलेनै विजयी हासिल गरेको थियो।

    आसन्न स्थानीय तहको चुनावमा कांग्रेस र एमाले यस पालिकामा एक्ला एक्लै चुनावी मैदानमा उत्रिदा अन्य तीन दलले भने तालमेल गर्नेछन। यद्यपी अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेस नै बलियो देखिन्छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अघिल्लो निर्वाचनमा ११ हजार ६ सय ५५ मतदाता रहेकोमा अहिले बढेर १३ हजार ४ सय ३१ पुगेको छ।

    बराहपोखरी गाउँपालिका

    अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको थियो। ६ वटा वडा रहेकोमा ४ मा एमाले र २ वडामा कांग्रेस विजयी भएका थिए। अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा १ हजार ९ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा एमालेका गणेश प्रसाद कोइराला १ हजार ७ सय ३२ मत पाएर दोस्रो हुनुभएको थियो।

    यस्तै माओवादीका निशना राईले ८ सय ६१ मत र तत्कालीन संघीय समाजवादी (हाल जसपा)का मोहन प्रसाद राईले २ सय २८ मत प्राप्त गर्नुभएको थियो। त्यसोत चार दल बिच नै यस पालिकामा गठबन्धन हुँदा एमालेलाई जित्न कठिन देखिन्छ । वराहपोखरी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ७ सय ३७ मतदाता थिए भने अहिले बढेर ९ हजार ३ सय ६४ पुगेका छन्।

    रावाबेसी गाउँपालिका

    अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो। ६ वटा वडा रहेको यस पालिकामा ३ वडामा कांग्रेस, २ वडामा एमाले र १ वडामा माओवादी विजयी भएको थियो। गाउँपालिका अध्यक्षमा एमालेका लिलानाथ निरौला १ हजार ९ सय ९ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनक कुमार कार्की १ हजार ५ सय ७५ मत पाएर दोस्रो र माओवादीबाट चेत कुमारी गुरुङ ९ सय ५९ पाउदै तेस्रो हुनुभएको थियो। यस्तै राप्रपाका गिरिराज सिंह बस्नेतले १ सय १४ मत पाउदा तत्कालीन नयाँ शक्ति (हाल जसपा) का मोहन कुमार गुरुङले ५४ मत पाउनु भएको थियो।

    आसन्न चुनावमा रावाबेसीमा पनि चार दलले गठबन्ध गर्ने निर्णय गरेको छ। एमालेबाट फुटेर निर्माण भएको एस र जसपा पार्टीको उक्त गाउँपालिकामा धेरै प्रभाव नभएको हुँदा गठबन्धन र एमाले बिचको चुनाव प्रतिस्पर्धात्मक हुने नेताहरु बताउछन। तर अघिल्लो निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एमाले भन्दा गठबन्धन अब्बल देखिन्छ। रावाबेँसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ९ सय ८२ मतदाता थिए भने अहिले बढेर ९ हजार ६ सय १८ पुगेका छन्।

    साकेला गाउँपालिका

    अघिल्लो निर्वाचनको मत परिणाम अनुसार साकेला गाउँपालिकामा माओवादी, कांग्रेस र एमाले बिच निकै कडा प्रतिस्पर्धा भएको देखिन्छ। गाउँपालिका अध्यक्षमा माओवादीबाट अध्यक्ष अर्जुन कुमार खड्काले १ हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका इच्छु राना र एमालेका आश्विन चन्द्र राई झिनो मतान्तरले पराजित हुनुभएको थियो।

    रानाले ९ सय ८५ र राईले ९ सय ५१ मत पाउनु भएको थियो भने उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो। यस्तै साकेला गाउँपालिकामा नेकपा मालेका कुल प्रसाद फुयलले ४ सय ३५ र तत्कालीन संघीय समाजवादी (हाल जसपा) का सन बहादुर राईले ४ सय २६ मत प्राप्त गर्नुभएको थियो।

    साकेला गाउँपालिकामा कांग्रेस र एमाले एक्ला एक्लै चुनाव लड्दा अन्य तीन पार्टीको भने तालमेल हुनेछ। तत्कालीन मालेबाट उम्मेद्वार बन्नु भएका फुयल अहिले एमालेबाट फुटेर बनेको पार्टी एसमा हुनुहुन्छ। त्यसोत अघिल्लो मत परिणाम अनुसार कांग्रेस र एमाले भन्दा तीन दलीय गठबन्धन बलियो देखिन्छ।

    वडा रहेको साकेलामा एमाले र कांग्रेसले २-२ वडामा जीत हात पार्दा माओवादीले १ वडामा जितेको थियो। साकेला गाउँपालिकामा अघिल्लो निर्वाचनमा ६ हजार ६ सय ५४ मतदाता रहँदा अहिले बढेर ८ हजार ५ सय ४८ पुगेको छ।

    images
    images

    प्रकाशित :बैशाख ७, २०७९ बुधवार - २१:५२:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij