खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको बिरोधमा गठबन्धन दलले आव्हान गरेको बन्दको प्रभाव पूर्णरुपमा रहेको पाइएको छ।
बुधबार राती ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्वद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आव्हान गरेका थिए।
बन्दका कारण स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यपार–व्यवसाय, संघसंस्था सवारी ठप्प भएका हुन्।
एमाले सम्वद्ध युवाले नियोजित रुपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए।
बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। एमाले सम्वद्ध चासुम राई, मिलन राईलगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति बिष्टले बताए।
उनीहरुले एस्काभेटर चलाउँदै आएका कांग्रेस सम्वद्ध तारामान राईसँग सडक निर्माण योजनावापत १५ हजार कमिसन मागेको बिष्टको भनाई छ। एमाले र कांग्रेस सम्वद्ध युवा बसिरहेको ठाउँमा बस्नेत बोलाइएका थिए। स्थानीयका अनुसार उनीहरु मादक पदार्थ सेवन गरेर बसिरहेका थिए।
एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आवद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलले बताएको छ।
यद्यपि, गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले भने बन्द नगर्न विज्ञप्ती जारी गरेको थियो।
तर, गठबन्धनले विहानैदेखी बन्द पूर्णरुपमा गराएका छन्। बन्दका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ।