खोटाङ- नेकपा एमालेका कार्यकर्ताबाट नेपाली कांग्रेसका एक नेतामाथि सांघतिक आक्रमण भएपछि गाउँपालिकामा एक दिने बन्दको आह्वान गरिएको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकामा भोलि (शुक्रबार) बन्दको आह्वान गरिएको हो।
कांग्रेस नेता देवराज बस्नेतमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ।
कांग्रेसका एक नेतासँग एमालेका कार्यकर्ताले कमिसन मागेको र कमिसन नदिन बस्नेतले भनेपछि उनीमाथि नै आक्रमण भएको बताइएको छ।
आक्रमणबाट सख्त घाइते बस्नेतको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको बताइएको छ।
कांग्रेस नेतामाथि आक्रमण भएपछि कांग्रेस सहित गठबन्धन आबद्ध दलले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द आह्वान गरेका छन्।
गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले निरङ्कुश गतिविधि गरेको भन्दै गठबन्धन आबद्ध दलले संयुक्त विज्ञप्ति जारी गर्दै बन्द आह्वान गरेका हुन्।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट गाउँपालिकामा बनेको एमाले सरकारले निरंकुशता प्रदर्शन गरेको भन्दै त्यसविरुद्ध भोलि बिहान १० बजे गाउँपालिकाको चिसापनी बजारमा विरोध प्रदर्शन पनि हुने भएको छ।
गाउँपालिकाले पाँच वर्षको अवधिमा इतर पार्टीका सामान्य मतदाता समेतलाई साधारण मजदुरीदेखि हरेक सेवा सुविधाबाट वञ्चित गराएको गठबन्धनद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
आफ्नो दल आबद्धलाई मात्र उपभोक्ता समितिमा राखेर कमिसन माग्ने करारका कर्मचारीमार्फत घुसखोरी गरी चरम भ्रष्टचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधरण जनमानसलाई आतंकित बनाई रहने कार्य वर्तमान गाउँपालिका सरकारले गरेको गठबन्धनले विज्ञप्तीमा उल्लेख गरेको छ।
कांग्रेस सभापति बाजिन्द्र विष्ट, नेकपा माओवादी केन्द्र ६ नं. वडा कमिटी अध्यक्ष डिल्लीशेर राई, नेकपा एकीकृत समाजवादीका गाउँपालिका अध्यक्ष सुमन राई र जनता समाजवजादी पार्टीका गाउँपालिका अध्यक्ष सुक्रिम राईद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाले अनियमितता गरेर कमाएको रकमले नेकपा एमालेबाट पालित गुण्डागर्दीका विरुद्धमा आम जनता र जनतासँग जोडिएका राजनीतिक दल प्रतिरोध गर्न सक्षम रहेको जानकारी गराउँदै आम जनसमुदाय त्रास र भयमुक्त हुन आग्रह गर्दछौँ।’
गठबन्धनले गाउँपालिकामा नेकपा एमालेले गरेको निरंकुशता, ज्यादति र सांघतिक आक्रमणका विरुद्ध भोलि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाहेक सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघ संस्था बन्द गर्न आह्वान गरेको हो।