खोटाङ - प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका कारण देशको गरिबी निवारणदेखि आर्थिक बिकासमा टेवा पुग्ने बताएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पुल उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको राष्ट्रिय हितमा भएको बताएका हुन्।
प्रधानमन्त्री देउवाले एमसीसीलाई अनुदानका रुपमा बुझ्न आग्रह गरेका छन्।
‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ। अनुदान हो यो,’ देउवाले भने, ‘अवश्य नै देशमा गरिबी निवारणदेखि लिएर आर्थिक विकासमा ठूलो भूमीका राख्ने बिश्वास लिएको छु।’
निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको संयुक्त वजेट ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ (मुल्य अभिबृद्धि कर सहित) मा पुलको काम सम्पन्न गरेको हो।
निर्माण कम्पनीले १७ जेठ २०७८ मा पुल निर्माणको काम सम्पन्न गर्नेगरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो।
स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण गरिएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए।
प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि ४० मिटर लम्बाई भएको पुल निर्माण गरिएको हो।
विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो। दिक्तेल–याम्खा–पञ्चमी सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो।
यस्तै, प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरेका छन्।
गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुलहरु (धाप्लाङ्घाट र रानीटार)को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँहरुमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गर्नुभएको हो।
गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले पेश गर्नुभएको मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्ष सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।
लामो समयसम्म साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा अवरुद्ध हुँदै आएको सडक खण्डमा मोटरेबल पक्की पुल बनेर सञ्चालनमा आएसँगै बाह्रै महिना उक्त सडक सञ्चालन हुने भएपछि दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन्।