खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१५ विजयखर्कमा रहेका सरकारी, गैह्र सरकारी संस्था, विद्यालय तथा पसलमा तोडफोड र चोरी भएको छ।
गयराति ताला फोडेर वडा नम्बर–१५ को वडा कार्यालय, स्वास्थ्य चौकी, साना किसान कृषि सहकारी संस्था, चम्पावती मावि र दुई वटा पसलमा तोडफोड तथा चोरी भएको हो।
वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका दराज, कुर्सी र टेवल तोडफोड गरिएको छ भने साना किसान कृषि सहकारी संस्थाको दराजमा रहेको ७३ हजार ९ सय रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले प्रभाव न्यूजलाई जानकारी दिए।
यस्तै, दुई वटा किराना पसलको ताला फोडेर २० हजार नगद, एउटा आइफोन मोवाइल र रिचार्ज कार्डहरु चोरी भएको उनको भनाई छ।
प्रहरी निरीक्षक साहको नेतृत्वमा सो ठाउँमा प्रहरी व्यापक परिचालन गरिएको छ। तोडफोड तथा चोरी गर्ने व्यक्ति नभइ ठुलै गिरोह रहेको आशंकामा व्यापक प्रहरी परिचालन गरि अनुसन्धान भइरहेको साहले बताए।
एक हप्ता अघिमात्र जिल्लाको पश्चिमी क्षेत्र ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐसेलुखर्कको वडा कार्यालय र त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएकोे थियो।
सो घटना र गयराति विजयखर्कमा भएको घटनाको प्रकृति एउटै भएकोले तोडफोड र चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको साहले बताए।
यो पनि :
खोटाङमा एउटा वडा कार्यालय र विद्यालयमा तोडफोड