खोटाङ - प्रविधिमैत्री कांग्रेस बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस खोटाङले भर्चुअल बैठक गरेको छ। कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने गरि शुक्रबार भर्चुअल बैठक गरेको हो।
कोरोना भाइरसको तेस्रो महामारीका कारण गाउँ–गाउँमा भौतिक उपस्थितिमा रहेर गतिविधि गर्न नसकिएपछि कांग्रेसले प्रविधिको प्रयोग गर्दै भर्चुअल बैठक राखेको बताइएको छ।
भर्चुअल बैठकबाट गत माघ १२ गते सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदारी गठबन्धनका तर्फबाट निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्ने निर्णय भएको छ। प्रदेश नम्बर- १ मा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका नेता हेमराज राई पराजित बन्नु र नेपाली कांग्रेसका गोपाल बस्नेतलाई पनि अपेक्षा गरिए अनुसारको मतदान नहुनुले गठबन्धनभित्रको नैतिक धरातलका सम्बन्धमा थप सोचनीय बनाएको र सम्बद्ध दलहरुले गम्भीरताका साथ छानवीन र अनुसन्धान गर्न जरुरी रहेको पनि बैठकबाट निर्णय गरिएको छ।
कोरोना भाइरसको संक्रमणको परिधि कमजोर बन्दै सहजता भएमा आगामी फागुन ७ गते प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय पनि भएको कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिए।
आन्तरिक एकता र पार्टी संगठन सुदृढिकरणलाई जोड दिने, आगामी स्थानीय तहको चुनावलाई लक्षित गरि युवा तथा तरुण दललाई परिचालन गर्ने, कोरोना संक्रमण भएका जिल्लाबासीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, प्रत्येक टोल–टोलमा पार्टी संगठन बिस्तार, अनुगमन समिति गठन गर्ने र दुई महिनाभित्रमा प्रतिवेदन पेश गर्नेलगायतका निर्णय भएको राईले बताए।
भर्चुअल बैठकमा उपस्थिति रहेका अधिकांस नेता कार्यकर्ताले पार्टीभित्रको गुटउपगुटको अन्त्य गर्दै खोटाङ कांग्रेसलाई मजबुत बनाएर अगाडि बढाउनु पर्ने सुझाव दिएका छन्।
भर्खरै सम्पन्न भएको कांग्रेसको जिल्ला अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्दा भएका कारण विजय र पराजयको तुष नराखी आगामी दिनमा खोटाङ कांग्रेस एक भएर अगाडि बढ्नेमा ढुक्क रहन कांग्रेसका युवा नेता रोजन राईले सबैलाई आग्रह गरेका छन्।
‘जनताको घर–घरमा नेपाली कांग्रेस, कांग्रेसको पक्षमा अवको जनादेश’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै कांग्रेस आगाडि बढेको हो।
कांग्रेसले गत माघ ४ गते विपि स्मृति भवनमा पार्टीका पालिका सभापति, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु र खोटाङ काठमाडौं सम्पर्क समितिका प्रमुखसँग अन्तरक्रिया गरेको थियो।
सो अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट खोटाङ कांग्रेसलाई थप मजबुत र सुदृढ गराउन प्रत्येक कार्यकर्ताहरुको मनोवल उच्च बनाएर जाने, टोलतहबाट समग्र क्रियाशिल सदस्यहरुलाई सहभागी गराएर प्रशिक्षण दिइने, पालिका स्तरीय अगुवा कार्यकर्ताहरुमा प्रशिक्षण गरिने, प्रदेश निर्वाचन क्षेत्रीय जागरण सभा, जिल्ला स्तरिय जागरण सभा आयोजना गर्ने, औपचारिक, अनौपचारिक नेता कार्यकर्तामा अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने, भर्खरै सम्पन्न अधिवेशनमा जुनसुकै पदमा उम्मेद्वार भएका सबैलाई यथोचित जिम्मा दिएर कामका खट्ने वातावरण सृजना गर्नेलगायतका योजनाहरु अगाडि सारेको थियो।