खोटाङका पुराना वामपन्थी नेता पुर्वसांसद कुलप्रसाद फुयाँल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटि सचिव रहेका फुयाँलले बिहिबार प्रेस विज्ञाप्तीमार्फत नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेको जानकारी दिएका छन् । २४ कात्तिकमा नेकपा (माले)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका फुयाँल केन्द्रिय सदस्यको जिम्मेवारीमा रहनेगरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।
फुयाँलसँगै नेकपा (माले)का केन्द्रिय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । पोखरेललाई केन्द्रिय सदस्य, राईलाई केन्द्रिय परिषद सदस्य एवं प्रदेश कमिटि सचिवालय सदस्य र यादवलाई प्रदेश कमिटि सदस्यको जिम्मेवारी दिइएको नेकपा (एकीकृत समाजवादी) खोटाङका ईन्चार्ज बबी चाम्लिङले बताए ।
नेकपा (माले)को तीन जिल्ला कमिटि नेकपा (एस)मा समाहित
यसैबीच, नेकपा (माले)को खोटाङ, तनहुँ र स्याङजा जिल्ला कमिटि नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमानमा कम्यूनिष्ट आन्दोलनलाई सही रुपमा अगाडि बढाउन सक्ने भन्दै नेकपा (माले)को तीन जिल्ला कमिटि समाहित गरिएको हो । पार्टी एकीकरणका लागि २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पुर्वसांसद फुयाँलसहित चार नेताको राजीनामा सँगै जिल्ला कमिटि एकीकरणको घोषणा गरिएको हो ।
जिल्लामा मालेको २५ सदस्यीय जिल्ला कमिटि र नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटिको औपचारिक एकीकरण घोषणा केही समयपछि हुने जिल्ला इन्चार्ज चाम्लिङले बताए । जिल्लामा मालेका एक जनालाई पदाधिकारी दिने सहमती भएको जनाइएको छ ।