कात्तिक ११, खोटाङ - नेपाली कांग्रेसको अधिवेशन तथा महाधिवेशन सन्निकट छ। यति बेला कांग्रेसीहरुले अधिवेशनलाई पर्वको रुपमा लिइरहेका छन्।
वडा देखी जिल्ला हुँदै केन्द्रसम्म नयाँ नेतृत्व सम्हाल्नको लागि कांग्रेसका नेता कार्यकर्ताहरु दौडधुपमा रहेका छन्।
कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
बुधबार विहान दिक्तेलस्थित इन्द्रेणी होटलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने बताएका हुन्। ‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर मेरो उम्मेद्वारीको चर्चा भएको हो।
मेरो उम्मेद्वारी कुनै पनि हालतमा फिर्ता हुँदैन,’ राईले भने, ‘अरू विषयवस्तु मिलाउने क्रममा सम्झौता हुनसक्छ। तर, सभापतिको विषयमा कुनै पनि सम्झौता हुँदैन।’
सुरुमा सभापतिमा दाबी गर्ने तर अन्तिममा पछि हट्ने आशंकाबारे राईले आफू पछि नहट्ने स्पष्ट पारेका छन्।

उनले जिल्लामा पार्टीलाई नयाँ उचाइ र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए। ‘जिल्लामा कांग्रेसको संगठन अव्यस्थित, अनुशासनविहीन र अव्यवस्थित छ। चेक एन्ड व्यालेन्स केही छैन। संगठन संस्थागत भएको छैन।
दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरू आइरहनु भएको छ तर पार्टी संगठनको मूल प्रवाहमा समावेश गरेर वैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन।
ती सबै अभाव परिपूर्ति गर्न सभापतिमा मेरो दावी हो। जिल्ला नवस्ने नेता भनेर ट्याग लगाउने गरेका छन नि भन्ने पत्रकारको प्रश्नमा राईले भने, राजनीतिक अस्थिरताका कारण वस्ने वातावरण नभएको हो। नबसेको हैन। त्यो बेला परिस्थिती त्यस्तै थियो। खै त बसेकाहरुले पनि पार्टी बनाएको ? उनले भने, अब सभापति बनेर पार्टीलाई बलियो बनाउनेछु। हाँक्नेछु।