बुटवल - रुपन्देहीको मर्चवारमा गतहप्ता एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।
माघ ६ गते मायादेवी गाउँपालिका-७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए। प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ।
अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् । माघ ६ गते राजेन्द्रको शव जलेको अवस्थामा भेटिएको थियो । शवको तत्काल सनाखत नभएपछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अनुसन्धान गरेको थियो।
निकै ढिला सनाखत भएपछि प्रहरीले थप अनुसन्धान गरि हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।