साउन २७, काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन सन्निकट छ। कांग्रेसभित्रका आन्तरिक समस्या हल गर्न होस् वा पार्टीलाई सजिलै हाँक्ने कुरामा होस्। सरकारमा छँदा होस् वा प्रतिपक्षमा होस्। संधै देश र जनताका पक्षमा वकालत गर्ने र जनताको राम्रो साथ पाएका नेताको नाम हो गगन कुमार थापा।
पार्टीभित्र बुढाहरूले ’युवा’ भनेर आजसम्म पत्याएनन्। पार्टीबाहिर उनीहरूलाई ’बुढा’ भनेर भाउ दिन छाड्दै जाने डर उत्तिकै छ। राजनीति दलभित्र मात्रै छैन, बाहिर पनि उत्तिकै छ। अझ बढी छ। तर, जनता र कार्यकर्ताहरुबाट भने थापालाई पार्टीभित्र महामन्त्री बनाउनु पर्ने चर्को दवाव छ।
सामाजिक संजालदेखी विभिन्न मिडियामा कांग्रेसको महामन्त्रीमा गगन थापा एक विकल्प भनिदैं आएको छ। यसै कारण पनि डेढ वर्ष अघि नै थापाले १४ औँ महाधिवेशनको महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा उनी महामन्त्रीका एकमात्र घोषित दाबेदार देखिन्छन्। ‘मेरो उम्मेदवारी निःसन्देह महामन्त्रीमा हुन्छ, जिल्लाका साथीहरूसँग अन्तरक्रिया गरिरहेको छु, केन्द्रमा नेताहरूसँग पनि कुराकानी भइरहेको छ,’ थापाले प्रभाव न्यूजसँग कुरा गर्दै भने, ‘अहिले समग्र पार्टीलाई राष्ट्रिय राजनीतिक मुद्दाको नेतृत्व गर्नेगरी अघि बढाउन मेरो, हाम्रो ध्यान केन्द्रित छ।
अब केही दिन भित्र भावी नेतृत्वको बारेमा स्पष्ट चित्र आइसक्छ।’ पार्टी सभापति शेर बहादुर देउवा, विलेन्द्र निधि, शेखर, शशांक, रामचन्द्र पौडेलमध्ये जो कोहीले महामन्त्री बनाउन सक्ने सम्भावित अनुहारमा गगन थापा नै छन्। युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, जीवन परियार, चन्द्र भन्डारी, सरिता प्रसाई, कल्याण गुरुङसमेतलाई समेट्ने प्रयासमा कांग्रेस छ।
कल्याण गुरुङ भने सिधै सभापति ’हान्दिने’ दाउमा छन्। तर, राजनीतिको व्यवहारिक पाटो बुझेका कांग्रेस युवा नेताहरू भने कल्याणझैं दुस्साहस मोल्न तयार छैनन्।
विगतमा नरहरि आचार्यलगायतले पार्टी सभापतिमा दाबी गर्दा भोगेको नतिजा उनीहरूलाई याद छँदै छ। बुढाहरूले हाँकेको कांग्रेसमा महामन्त्री ताक्नु त महँगो पर्ने गर्थ्यो, केही अघिसम्म। गगन थापाले शशांक कोइराला र अर्जुननरसिंह केसीलाई चुनौती दिँदै तेह्रौं महाधिवेशनमा महामन्त्री लड्दा आम नागरिकले उत्साहका साथ हेरेका थिए। स्वयं कांग्रेसको परम्परागत महाधिवेशन मतदाताले भने स्वीकार्न तयार देखिएनन्। उल्लेख्य मत पाउँदापाउँदै पनि थापा हार्न पुगे। थापालाई नजिकैबाट बुझ्नेहरूको भनाइमा उनी कृष्ण सिटौला समूहको तर्फबाट मात्रै उम्मेदवार नबन्न सक्छन्। कारण, सिटौला आफैँ सभापतिमा लड्ने मुडमा देखिँदैनन्।
बरु सिटौला आगामी कांग्रेस सभापति निर्वाचनका लागि किङ्मेकर बनेर अगाडि बढ्न सक्छन्। यस्तो अवस्थामा उनी उपसभापति बन्न सक्ने अवस्था हुन्छ। उनले विगत १३ औँ महाधिवेशनको तेस्रो धार अक्षुण्ण राख्दै थापालाई आफ्नो समूहको अगुवाका रुपमा महाधिवेशनमा होम्न भने सक्नेछन्। थापाले विमलेन्द्र निधि या शेखर कोइरालामध्ये एकलाई सभापति मान्ने सम्भावना देखिन्छ।
उनी देउवा र शशांक कोइरालाको महामन्त्री भने नबन्ने निकटस्थहरूले स्पष्ट गरे। यस्तो अवस्थामा थापालाई टक्कर दिन आइपुग्नेछन्, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा। सिंगो पार्टी पंक्तिभित्र यिनै दुई नेताहरूको बढ्ता चर्चा हुने गर्छ। महाधिवेशन प्रतिनिधिहरूलाई ‘थापा या शर्मा’ होइन, ‘थापा र शर्मा’ छान्ने सुविधा हुनेछ। कारण, आइन्दा कांग्रेसमा दुवै महामन्त्री निर्वाचित भएर आउनेछन्।
शर्माले अहिलेसम्म महामन्त्री उम्मेदवार बन्नेबारे औपचारिक अभिव्यक्ति कतै दिएका छैनन्। तर पार्टीको आन्तरिक वृत्तभित्र उनले यसअघि नै आफ्नो इच्छा भने सार्वजनिक गरिसकेका छन्। ‘निःसन्देह नयाँ पुस्तामा पार्टी नेतृत्व जानुपर्छ भन्ने आवाज उठ्दै गर्दा हामीले यो धारको नेतृत्व गर्दै आएका नै छौँ,’ शर्माले भने, ‘समय आएपछि यसबारे बोल्नु नै पर्छ। अहिले महाधिवेशनलाई कसरी भौतिक र भर्चुअल दुवै किसिमले सफल पार्ने भन्नेबारे प्राविधिक तयारीमा जुटेका छौँ।’ शर्माले आफ्नो उम्मेदवारी आउन सक्ने संकेत भने गरेका छन्।
उनलाई नजिकबाट चिन्नेहरूको भनाइमा महामन्त्रीमा देउवा समूहबाट शर्माको उम्मेदवारी शतप्रतिशत पक्का छ। युवा नेताहरूलाई आफू महाधिवेशन जित्ने चुनौतीभन्दा बढ्ता चिन्ता कांग्रेसलाई नयाँ पुस्तामा कसरी स्थापित गराउने भन्ने देखिन्छ। जुनसुकै खेमाका युवा नेताहरूलाई देउवा, रामचन्द्र पौडेल या शशांक कोइराला जस्ता नेताहरूलाई अघि सारेर आगामी चुनावमा जनतासामू जान कठिन छ भन्ने परेको छ।
थापाका विषयमा हामीले सामाजिक संजालबाट लिएको एक अंश हेर्नुहोस :
तिमीले संसदमा खेलेको भूमिका, युवाहरुको मनमा जगाएको आशाको कारण पनि तिमी मन्त्री हैन महामन्त्री नै बन्नुपर्छ। तिमीले कसैको कोटरीबाट मन्त्री हुन स्वीकार्नु हुदैन। तिमीलाई गलाएर भित्री अनैतिक सहमति गराएर भए पनि मन्त्री बनाउन लाग्नेहरुको सर्त मानेर मन्त्री बन्नु हुन्न, स्वीकार्नु हुन्न।
देशभरका शुभचिन्तकहरुले अघिल्लो मन्त्री बन्दा तिम्रो क्षमता देखिसकेका छन्। सायद तिमीसँगै डराएर होला बिवादस्पद छविका व्यापारी उमेश श्रेष्ठलाई मन्त्री बनाएको।
तिमीले निर्धक्क भएर इमान, इज्यत, नैतिकता राखेर अघि बढ, हामी नेपाली तिम्रो साथमा छौ। मन्त्री बन्न खुट्टा उचाल्ने हैन् तिमी नेपाली कांग्रेसको महामन्त्री, पार्टी समापति हुदै प्रधानमन्त्री बनेर देशको मुहार फेर्नुपर्छ।