साउन २०, काठमाडौं - खोटाङ जिल्लाको प्रदेश (क) को तुलनामा प्रदेश (ख) विकास निर्माणमा पछाडि परेको भन्दै जिल्लाका नेपाली कांग्रेसका नेताहरुले सरकारको ध्यानकर्षण गराएका छन्।
दक्षिणी क्षेत्र पुर्वी शहरसँग भौगोलिकरुपमा नजिक रहेपनि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सिंचाई जस्ता विकासका अत्यावश्यक पूर्वाधारबाट बञ्चित रहेको भन्दै कांग्रेसका नेताहरुले सरकारलाई झक्झक्याएका हुन।
बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्य मन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, भुवन श्रेष्ठलगायतका नेताहरुले प्रदेश (ख) का समस्याहरु तत्काल हल गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
सुनकोशी नदीस्थित धाप्लाङ्गघाट, वंसिलाघाटको पक्की पुल, सावाखोला स्थित ठुलिबेँसीको पक्कि पुल निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्न गराउन तथा आवश्यक बजेटको व्यवस्थापन गर्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मागपत्र पेश गरिएको कांग्रेस नेता महेन्द्रकुमार कट्वालले बताए।
वसिलाघाट- बुवाँजरघाट- सिक्किमटार- फेदि - देविस्थान - चिसापानी सडक, वंसिला-मौवाबोटे-जन्तेढुङ्गा-चिसापानी थामखर्क सडक, रसुवाघाट-सिम्पानी-मुलडाँडाँ-(भोजपूर)-पान्धारे सडक, धाप्लाङ्गघाट-सुन्तले-सिन्ताङ-चिसापानी-भञ्ज्याङ्गखर्क सडक, रसुवाघाट-बारापोखरी-सिन्ताङ-बुवाँजरघाट सडक वोपुङ्ग-सिक्किमटार-बुँवाजर-वंसिला - सडक, वोपुङ्ग - काउले सडक, रेग्मीटार -पंचमी छितापोखरी धिप्लुङ्ग सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन समेत माग गरिएको कट्वालले बताए।
प्रदेश (ख) २०७० सालदेखी निरन्तर जिल्लाको संसद पदमा निर्वाचित भएका तथा २०७४ सालमा भएको संघीय सांसदको निर्वाचनमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका सांसद विशाल भट्टराईको क्षेत्र भएपनि भट्टराईले आफ्नै क्षेत्रको विकास निर्माणमा कुनै काम नगरेको र साना तिना गोष्ठि भेलामा मात्र लागी परेकोले जनताले विकासको स्वास फेर्न नपाएका कारण आफूहरु सरकारको ढोका घच्घच्याउन गएको कट्वालको तर्क छ।
प्रदेश (क) का अधिंकास वडाहरुमा विजुली वत्ती पुगेको छ। मध्यपहाडी लोकमार्गको हाइवे सडक छ। सवै वडाहरुमा बाह्रै महिना सडक सञ्चालनमा छन्। स्वास्थ्य शिक्षाको राम्रो प्रवन्ध रहेको छ। तर, प्रदेश (ख) का वडाहरु अझैपनि अन्धकार रहेका छन्। सो क्षेत्रमा अहिलेसम्म कालोपत्रेले पाइला हालेको छैन्। सबै सडक कच्ची रहेका छन्। पुल पुलेसाहरु अहिलेसम्म काठका छन्। स्वास्थ्य शिक्षा, खानेपानी, सञ्चारको अवस्था दयनीय रहेको छ।